लेखनाथ, कात्तिक २३ । रत्नशोभा भूतपूर्व विद्यार्थी एसोसियसनले नेपालीका चाड शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पोखरा–२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको साझा संगठन एसोसियसनले सोमबार उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा पोखरा–२८ का वडाध्यक्ष एवम् पूर्वविद्यार्थी श्रीकृष्ण लामिछानेले दीपावली, छठ पर्व तथा नेपाल संवत् लगायतका चाडपर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले वर्तमान परिवेशअनुसार विद्यालयमा पठनपाठन हुनुपर्नेमा जोड दिँदै आफूहरूले अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि सबैमा सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके अभिभावकको विश्वास जित्न सकिने उल्लेख गर्दै उहाँले नीति तथा नियमको परिधिभित्र रहेर वडा कार्यालयले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको जानकारी दिनुभयो। विगतका समितिहरूले विद्यालयको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँले पूर्वविद्यार्थी, पूर्वअध्यक्ष, शिक्षाविद् तथा सामाजिक व्यक्तित्वहरूबीच बृहत् छलफल गरी ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। यसका लागि वडा परिवारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
यसैगरी, एसोसियसनका अध्यक्ष कालिप्रसाद भुर्तेलले विद्यालय स्थापनादेखि हालसम्म अध्ययन गरेका विद्यार्थीहरूको साझा संगठनका रूपमा एसोसियसन स्थापना भएको जानकारी दिनुभयो। उहाँले विदेशमा रहेका पूर्वविद्यार्थीहरूलाई समेत संगठनमा आबद्ध गराउने प्रयास भइरहेको उल्लेख गर्दै हाल संस्थामा १०० जना आजीवन सदस्य र ६५ जना साधारण सदस्य रहेको जानकारी दिनुभयो।
अध्यक्ष भुर्तेलले एसोसियसनले हालसम्म गरेका गतिविधिबारे जानकारी गराउँदै शैक्षिक सत्र २०८२ मा एसईईमा उत्कृष्ट ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको बताउनुभयो। त्यसैगरी, ३५ वर्षमाथिका व्यक्तिहरूको सहभागितामा साविक माझठाना तथा कालिका स्तरीय भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गरिएको, विद्यालयमा नवनियुक्त शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबीच अन्तरक्रिया गरिएको तथा विद्यार्थी केन्द्रित हाजिरीजवाफ प्रतियोगितालगायत विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
समग्र माझठानाको विकासमा एसोसियसन सदैव तत्पर रहेको उल्लेख गर्दै उहाँले माझठानावासीको सुखदुःखमा संगठन सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा कार्यक्रममा उपस्थित व्यक्तित्वहरूबाट प्राप्त सल्लाह तथा सुझावका आधारमा संगठनलाई थप प्रभावकारी बनाउँदै अगाडि बढाउने बताउनुभयो।
कार्यक्रममा संस्थापक अध्यक्ष शुक्र शर्मा, विद्यालयका पूर्वअध्यक्षहरू कृष्णप्रसाद तिमिल्सेना, शिव अधिकारी, सूर्यप्रकाश तिवारी र मोहन गुरुङ, पूर्वप्रधानाध्यापक तोयनाथ लामिछाने, ग्रिन डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत हरि बुढाथोकी, साना किसान कृषि सहकारी संस्था सौर्यका अध्यक्ष रामकृष्ण तिवारी, संस्थाका कोषाध्यक्ष विश्वराज तिवारी, सामाजिक व्यक्तित्व ऋषिराम रामिछाने, पोखरा पब्लिक बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल कृष्ण केसी तथा एसोसियसनका सल्लाहकार हरि लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
वक्ताहरूले विद्यालय सबैको साझा संस्था भएको उल्लेख गर्दै विद्यालय प्रशासन, अभिभावक, भूतपूर्व विद्यार्थी एसोसियसन तथा विद्यालय व्यवस्थापन समितिबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। विद्यालयको समग्र विकासका लागि ठोस योजना निर्माण गरी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझावसमेत दिनुभयो।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले भूतपूर्व विद्यार्थीहरू विद्यालयका अभिन्न अंग भएको बताउनुभयो। उहाँले विद्यालयका योजनाहरू पूर्वविद्यार्थी संगठनसमक्ष प्रस्तुत गरिएको उल्लेख गर्दै विद्यालय प्रशासन सदैव विद्यालयका सम्पूर्ण सरोकारवाला पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एसोसियसनका उपाध्यक्ष सूर्य थापामगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव जीवन तिवारीले गर्नुभएको थियो। कार्यक्रम एसोसियसनका अध्यक्ष कालिप्रसाद भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो।