माझठाना, असोज २९ । गत असोज २३ गते शुक्रबार कालिका बोर्डिङ स्कुलको बस ओख्लेभिरमा दुर्घटना हुँदा चार जना विद्यार्थी र एक जना स्थानीय अभिभावकको असामयिक निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं. २८ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुर्घटनामा परी ज्यान गुमाएका विद्यार्थी तथा अभिभावकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा समवेदना व्यक्त गर्नुभयो। उहाँले शोकमा रहेका परिवारजनलाई यो दुःखद घडी सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।
कार्यक्रममा प्रमुख आचार्यले पोखरामा उपचाररत बालबालिकाहरू खतरामुक्त रहेको र उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिनुभयो। त्यस्तै, काठमाडौंमा उपचाररत अस्मि नानीको उपचारमा कुनै कमी हुन नदिन आफूले चिकित्सकहरूलाई आग्रह गरेको उहाँले बताउनुभयो। चिकित्सकबाट अस्मिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उहाँले उपचार प्रक्रियामा विश्वास गर्न आग्रह गर्नुभयो।
आकस्मिक रूपमा घट्ने यस्ता दुर्घटनालाई लिएर कसैले पनि आपसी मनमुटाव सिर्जना गरी एकअर्काको चित्त दुखाउने काम नगर्न आग्रह गर्दै प्रमुख आचार्यले घटनाको छानबिन समितिले बुझाउने प्रतिवेदन अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
पोखरा महानगरपालिका वडा नं. २८ को कार्यालयस्थित सभाहलमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा सचिव महेश्वर अर्याललगायतले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो।
शुभेच्छा तिवारी, असिम कंडेल, ममता तिवारी, रोमीका नेपाली र बाबुराम तिवारीको दुर्घटनामा परी मृत्यु भएको थियो ।