पोखरा महानगरपालिका–२७, ज्यामिरकुनास्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान एवं विविध सांस्कृतिक समारोह २०८३ सम्पन्न भएको छ । समारोहमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

समारोहको उद्घघाटन गर्दै पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीको सदुपयोग गर्दै व्यावहारिक तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। उनले विद्यालयको भावी योजनामा जनप्रतिनिधिका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले विद्यालयमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्नेमा जोड दिँदै शैक्षिक सुधारका कार्यक्रम तथा प्राविधिक शिक्षा सञ्चालनमा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए।

विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण विधि र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिइएको बताए। उनले समयानुकूल अभिभावकको चाहना र विद्यार्थीको आवश्यकताअनुसार व्यावहारिक शिक्षासँगै खेलकुद गतिविधिलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले घर नै बालबालिकाको पहिलो पाठशाला भएकाले अभिभावकले संस्कार र नैतिक शिक्षामा ध्यान दिनुपर्ने बताए। उनले शिक्षण सिकाइमा प्रयोगात्मक विधिलाई प्राथमिकता दिन पनि आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष ईश्वरी लामिछानेले विद्यालयको भावी योजनाबारे जानकारी दिँदै नयाँ संकाय तथा विषय थप गर्ने, सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने र प्रविधिमैत्री शिक्षालाई विस्तार गर्ने योजनाबारे चर्चा गरिन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष चतुराखर अधिकारी, संस्थापक भोजराज भण्डारी, भवानीकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश भट्टराई, अक्षयकोषदाता पदमराज ढकाल तथा शिक्षक अभिभावक संघका अध्यक्ष प्रतापबाबु ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विद्यार्थी सिमन कुँवर र सम्झना बेलबासे तथा सहायक प्रधानाध्यापक कोपिला घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका लेखा प्रमुख गणेश पौडेलले गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा पूर्वप्रधानाध्यापक वेदनाथ ढुङ्गानालाई शैक्षिक पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी सामाजिक क्षेत्रमा सर्वस्वदान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई सामाजिक पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, पूर्वसदस्यहरू शान्तिदेवी सुवेदी, घनश्याम बराल, पुष्पराज भट्टराई, हेमराज आचार्य, लक्ष्मण बास्तोला, मोहनकुमार बास्तोला र अम्बिका भट्टराईलाई सम्मान गरिएको थियो।

त्यसैगरी पूर्वप्रधानाध्यापक रविन्द्रनाथ भट्टराई, शिक्षक अभिभावक संघका पूर्वकार्यवाहक अध्यक्ष शंकरप्रसाद पौडेल, उत्तमप्रकाश बराल, पूर्वशिक्षक रविमोहन ढकाल र सरस्वती पौडेल तथा समाजसेवी एवं शिक्षाप्रेमी विन्दु सुवेदीलाई सम्मान गरिएको थियो। शिक्षकहरू कमला पौडेल, सञ्जय अधिकारी, मेनका देवी लामिछाने, लक्ष्मी आचार्य र हरिप्रसाद सापकोटा तथा विद्यालयका लेखापाल नवराज ओझालाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, भजनचुड्का, नाटक तथा पीटी प्रदर्शन गरेका थिए। विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको थियो ।

वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ ।