पोखरा । विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिँदै न्युजिल्यान्डमा बसोबास गर्दै आएका नेपालीले परम्परा अनुसार भाइटीका लगाएर तिहार मनाएका छन्।
पोखरा महानगरपालिका–३१, मोहोरियामा जन्मघर भएका डा. रमिल अधिकारीले परिवारसहित भाइटीका लगाएर तिहार मनाएका हुन्। न्युजिल्यान्डको वेलिङ्टन क्षेत्रस्थित अपर हट सहरमा बसोबास गर्दै आएका अधिकारी सहित उनका छोरा प्रबलीन र छोरी अंशले नेपाली परम्परा अनुसार भाइटीका लगाएर तिहार मनाएका छन्।


विदेशी भूमिलाई कर्मथलो बनाएर बसोबास गरे पनि नेपालीको वास्तविक पहिचान आफ्ना संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएको अधिकारीले बताए।
‘जुन देशमा बसे पनि आफ्नो संस्कार र संस्कृति बिर्सनु हुँदैन। हाम्रो सभ्यता र पहिचान गुम्न दिनु हुँदैन,’ उनले भने, ‘हामीले नयाँ पुस्तालाई पनि आफ्नो संस्कृति र परम्पराको महत्व बुझाउँदै हस्तान्तरण गर्नुपर्छ।’


न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयमा प्रमुख सल्लाहकारका रूपमा कार्यरत अधिकारी जनस्वास्थ्य क्षेत्रको पेसागत संस्था पब्लिक हेल्थ एसोसिएसन अफ न्युजिल्यान्डका अध्यक्षसमेत हुन्। स्वास्थ्य क्षेत्रका अतिरिक्त उनको रुचि साहित्य र संगीतमा पनि रहेको छ। उनी गजल, गीत तथा कविता लेखनमा सक्रिय छन्। उनका गीतका म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन्।
कला तथा साहित्य क्षेत्रमा राष्ट्रियस्तरका चारवटा अवार्डबाट सम्मानित अधिकारी विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय छन्।


तिहारका अवसरमा छोराछोरीलाई नेपाली संस्कार र परम्परासँग जोड्दै भाइटीका मनाउन पाउँदा खुसी लागेको उनले बताए। नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउनु विदेशमा रहेका नेपालीको पनि महत्वपूर्ण दायित्व भएको उनको भनाइ छ।
विदेशी भूमिमा रहेर पनि आफ्ना सन्तानलाई नेपाली संस्कार र परम्परासँग परिचित गराउने अधिकारी परिवारको प्रयासले नेपाली संस्कृति पुस्तान्तरणको महत्वलाई उजागर गरेको छ।