माझठाना, कात्तिक २१ । कृषि विकास कार्यालय, कास्कीको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम अन्तर्गत समुदायस्तरमा प्रशोधनयोग्य तथा खायन आलु उत्पादन कार्यक्रमका लागि कृषकहरूलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदानस्वरूप आलुको बीउ वितरण गरिएको छ।
पोखरा महानगरपालिका–२८, साना किसान कृषि सहकारी सौर्य, कास्कीमा करिब ७ हजार ५०० किलो आलुको बीउ वितरण गरिएको हो। कार्यक्रममा यस क्षेत्रका कृषक तथा सहकारीका सदस्यहरूको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्रीकृष्ण लामिछानेले सहकारी संस्थाले वास्तविक कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरेका यस्ता कार्यक्रमले साना किसान सहकारी अभियानलाई थप टेवा पु¥याएको बताउनु भयो । सहकारी संस्थाको संस्थापक अध्यक्षका रूपमा आफूले विगतमा गरेका कामहरूको स्मरण गर्दै उहाँले वर्तमान सञ्चालक समितिलाई थप प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिनुभयो।
सहकारी क्षेत्रमा देखिएका पछिल्ला चुनौती र त्यसले संस्थाहरूमा पार्न सक्ने प्रभावबारे चर्चा गर्दै लामिछानेले उक्त सहकारीमा हालसम्म त्यस्ता समस्या नदेखिएको जानकारी गराए। उनले संस्थाको आगामी यात्रा प्रविधिमैत्री र व्यावसायिक रूपमा सफल बनोस् भन्ने शुभकामना व्यक्त गर्दै वडा कार्यालयले आगामी दिनमा पनि सहकारीसँग सकारात्मक सहकार्य र हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण तिवारीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै सहकारी संस्था किसान र कृषिको विकासका लागि निरन्तर क्रियाशील रहने बताउनु भयो । कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको कृषि विकास कार्यालय, कास्कीप्रति विशेष आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा राख्नुभयो।
सहकारीको वार्षिक नीति तथा कार्यक्रममा शेयर सदस्यहरूको आवश्यकता र प्राथमिकतालाई विशेष स्थान दिइँदै आएको अध्यक्ष तिवारीले उल्लेख गर्दै कृषकको हकहित संरक्षण र जीवनस्तर उकास्ने उद्देश्यका कार्यक्रमलाई प्राथमिकता दिइने बताउनु भयो ।

उहाँले सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकका बारेमा जानकारी दिँदै बीउजन्य सामग्री खरिदका लागि अन्य जिल्लामा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी संस्था र अगुवा कृषकसँगको सहकार्यमा स्थानीयस्तरमै बीउ उत्पादन गर्ने योजना रहेको पनि जानकारी दिनु भयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक रवि रानाभाटले कार्यक्रमको उद्देश्य, औचित्य तथा यसबाट कृषि क्षेत्र, समुदाय र कृषकहरूमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष आर्थिक प्रभावका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आलुको बीउका जात, विशेषता, उत्पादन तथा बजार व्यवस्थापन लगायतका विषयमा कृषकहरूलाई जानकारी दिँदै बाली बीमा कार्यक्रममा समेत कृषकहरूको सहभागिता आवश्यक रहेको बताउनु भयो । सहकारीले आगामी दिनमा सञ्चालन गर्ने कृषिमुखी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन उहाँले कृषकहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रमको सञ्चालन संस्थाका लेखा सुपरिवेक्षण समितिका कार्यवाहक संयोजक प्रकाश आचार्यले गरेका थियो।
कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीयस्तरमा आलु उत्पादन वृद्धि, व्यावसायिक कृषि प्रवद्र्धन तथा कृषकको आयआर्जनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।