लेखनाथ, ३१ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा सदस्य एवम् प्रमुख सचेतक खुस्बु ओलीले नेपालको पहिचान सनातन हिन्दु धर्म र संस्कृतिसँग जोडिएको उल्लेख गर्नु भयो । मधेस कास्की सम्पर्क समाजले आयोजना गरेको चौथो नवदुर्गाा पूजा समारोहलाई सम्बोधन गर्दै सांसाद ओलीले धर्ममाथि हुने आक्रमण र अन्यायविरुद्ध आवाज उठाउन सबैलाई आग्रहसमेत गर्नु भयो ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजित समारोहमा बोल्दै उहाँले सनातन धर्म नेपालको प्राचीन सभ्यता, परम्परा र आस्थासँग जोडिएको बताउनु भयो । हिन्दु धर्ममा नारीलाई शक्ति र सम्मानका रूपमा स्थापित गरिएको उल्लेख गर्दै उहाँले धर्मको मर्म बुझ्न र यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनु भयो ।
तराईमा भएका घटनाले धार्मिक असहिष्णुताको विषयमा चिन्ता बढाएको उल्लेख गर्दै अन्याय र विभेदविरुद्ध सबै सनातनी एकजुट हुनुपर्ने समय आएको बताउनु भयो । चुनाव आउने र जाने क्रम चलिरहने भए पनि देशको पहिचान, धर्म र संस्कृतिको संरक्षण दीर्घकालीन विषय भएको उहाँको भनाइ थियो।
“धर्ममाथि बारम्बार आक्रमण भइरहेको अवस्थामा अब मौन बस्ने समय छैन,” उनले थप्नु भयो , “सनातन धर्मको रक्षा र अन्यायविरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्छ।” उनले नवदुर्गाको आराधनाले समाजमा रहेका भ्रम हटाउन र धार्मिक आस्था बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन खनालले धर्म र संस्कृतिको संरक्षण राष्ट्रिय एकतासँग जोडिएको बताए। उनले हिमाल, पहाड र तराईका नेपालीलाई एकताबद्ध बनाउन धार्मिक तथा सांस्कृतिक सहिष्णुता आवश्यक रहेको उल्लेख गर्नु भयो। बौद्ध, किरात र हिन्दुलगायतका धार्मिक परम्पराको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सनातन धर्मको संरक्षण तथा शुद्धीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले मधेसी समुदायको श्रम, परिश्रम र आत्मनिर्भरताको प्रशंसा गर्दै सबै पेसा र श्रमको सम्मान गर्नुपर्ने बताउनु भयो । “कर्मलाई तुलना गर्नु हुँदैन, सम्मान गर्नुपर्छ,” उनले भन्नु भयो । मधेसी समुदायको मेहनत र कर्मशीलताबाट सबैले सिक्नुपर्ने उहाँको धारणा थियो।
मधेस कास्की सम्पर्क समाजका अध्यक्ष सतेन्द्रकुमार दासले मधेसी समुदायले आस्थापूर्वक दुर्गा माताको पूजा गर्दै आएको परम्परा, कला र संस्कृतिको संरक्षणमा नवदुर्गा पूजा समारोहले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेय, बाबुराम गिरी, श्रीकृष्ण प्रणामी वृन्दावनका १०८ विशिष्ट स्वामी लगायतका बक्ताहरुले समाजमा विद्यमान विभेद र विध्वंसकारी प्रवृत्तिको अन्त्य गर्न आपसी सद्भाव र एकता कायम गर्नुपर्नेमा जोड दिंदै कला धर्म र संस्कृतिको संरक्षण नवदुर्गा पूजा कार्यक्रमले महत्वपूर्ण भूमिक लेख्ने विश्वास व्यक्त गर्नु भयो ।
मधेस कास्की सम्पर्क समाजले प्रत्येक वर्ष बडादसैँ तथा नवरात्रको अवसरमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले नवदुर्गा पूजा समारोह आयोजना गर्दै आएको छ। घटस्थापनादेखि सुरु भएको यस वर्षको पूजा समारोह विजयादशमीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।








