पोखरा, १३ कात्तिक । पोखरा महानगरपालिका वडा नंं ३१ स्थित बेगनासताल किनारमा छैटौँ बेगनास फिस फेस्टिबल तथा देउसीभैलो प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै यस्ता महोत्सवले बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार तथा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
पोखरामा पर्यटकको बसाइ लम्याउन पोखरा र लेखनाथ क्षेत्रमा रहेका ९ वटा तालहरुलाई जोड्नेगरी साइकल लेन सहितको सडक निर्माणको काम सुरु गरिएको सो अवसरमा उहाँले जानकारी दिए । बेगनास ताललाई वाटर स्पोट्र्सको केन्द्रका रूपमा विकास गर्न सकिने पनि उहाँले बताए ।
गण्डकी प्रदेशकी प्रमुख सचिव आवास श्रेष्ठले महोत्सवले स्थानीय स्रोतसाधनको परिचालन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय किसान, युवा तथा व्यवसायीलाई पर्यटनसँग जोड्दै दिगो विकासमा लाग्न आग्रह गर्नुभयो ।
पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले महोत्सवले बेगनासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताउँदै धार्मिक स्थल, बराह मन्दिर क्षेत्र र वाटर स्पोट्र्सका पूर्वाधार निर्माणलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । समाजसेवी शान्ति खनालले स्थानीय माछाको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा मौलिक कला र संस्कृतिको संरक्षणमा महोत्सवले योगदान पु¥याउने बताउनुभयो ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवमा स्थानीय जातका माछा तथा माछा पालनसम्बन्धी प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारका साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने जानकारी दिनु भएको थिया भने निवर्तमान अध्यक्ष बिरभद्र कंडेलले स्वागत गर्नु भएको थियो ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित कार्तिक २३ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको खपत बढाउनुका साथै बेगनास क्षेत्रको पर्यटन र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गरिने जनाइएको छ ।
विभिन्न जातजातिका भेषभुषा, झाँकी ¥याली समेत प्रदर्शन गरिएको उद्ध्घाटन सत्र एसोसियसनका अध्यक्ष सुरेस लामिछानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गर्नु भएको थियो ।
आयोजकका अनुसार गोर्खा ब्रुअरी नेपाल मुख्य प्रायोजकको रुपमा रहेको छ भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश सरकार गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ३१ लगायत विभिन्न स्थानीय संघ–संस्थाको आर्थिक सहयोग रहेको बताइएको छ ।