पोखरा, असोज २३ । पोखरा महानगरपालिका वडा नं. २८, शान्तिमैदान नजिकै ओख्ले भिरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको छानविन गर्न पोखरा महानगरले छानविन समिति गठन गरेको छ ।
छानविन समितिको संयोजकमा शिक्षा माहाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदी, सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनु भएको छ ।
वस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको पोखरा महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत जानरी दिनु भएको छ।
बस दुर्घटनामा परी घाइते भएकाको सरकारी कोषबाट उपचार गरिने
पोखरामा भएको विद्यालय बस दुर्घटनामा परी घाइते भएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने पोखरा महानगरले जानकारी गराएको छ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले शुक्रबार बेलुका सामाजिक सञ्जाल मार्फत सो सम्बन्धि जानकारी गराउनु भएको हो । घाइतेहरुको उपचारको आवश्यक व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई जानकारी गराईसकिएको उहाले बताउनु भएको छ । उपचार खर्चका विषयमा कुनै अन्योल वा द्विविधा नराख्न सम्पूर्ण अभिभावकज्यूहरूमा पोखरा महानगर प्रमुख धनराज आचार्यले अनुरोध गर्नु भएको छ ।
महानगर प्रमुख आचार्यले यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । साथै उहाँले घाइते सम्पूर्ण विद्यार्थीहरु, चालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।








