लेखनाथ, १४ असार । कास्कीको लेखनाथस्थित शिशुवामा आयोजित २१ औँ रोपाइँ महोत्सव आइतबार सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ३० वडा कृषि सञ्जालको सह अयोजना, लेखनाथ उद्योग वाणिज्य संघ , होटल तथा रेष्टुरेण्ट एसोसियसन लगायतका स्थानिय संघ संस्थाहरुको सहयोगमा सम्पन्न महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलोसँग रमाइलो गरेका हुन्।
महोत्सवमा विभिन्न देशबाट आएका विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले खेतमा उत्रिएर धान रोपाइँको अनुभव लिएका थिए।
नेपाली लोकसंस्कृतिको झल्को दिने असारे गीत, पञ्चेबाजा, नाचगान र हिलो खेलले महोत्सवलाई थप आकर्षक बनाएको थियो। पर्यटकहरूले किसानसँगै हिलोमा पस्दै धान रोपे, हिलो खेल खेले र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभूति गर्ने अवसर पाए।
स्थानीय जीवनबहादुर बुढाथोकीको आठ रोपनी खेतमा आइतबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सव सुरुवात गर्नुभयो । प्रमुख आचार्यले परम्परा अवलम्बन सँगसँगै नयाँ प्रविधि अपनाएर वैज्ञानिक तवरले खेतीपर्फ लाग्नैपर्नेमा जोड दिनुभयो । “अहिले महानगरका ग्रामीण क्षेत्रका अधिकांश खेत बाँझै छन्, कतिपय ठाउँमा उत्पादन लागत नउठ्ने भन्दै जग्गा खाली छाड्न थालिएको छ,” उहाँले भन्नुभयो, ‘पछिल्लो समय चक्लाबन्दी गर्ने अभियानहरु पनि सुरु नभएका होइनन् तर अब परम्परा जोगाउँदै उत्पादन लागत हिसाब गर्दै नयाँ प्रविधि प्रयोग गर्नैपर्ने भएको छ ।”
नेपालीको मुख्य खाद्यवाली धान रोपाइँलाई पर्यटनसँग जोड्दै परम्परागत कृषि प्रणालीबारे जानकारी दिन महोत्सव आयोजना गरिएको परिषद् अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने उद्घोषलाई यथार्थमा रुपान्तर गर्न महोत्सव सहयोग बनेको उहाँको दाबी छ ।
“अफसिजनका बेला पनि पोखरा जान मिल्छ, पोखरा सबै मौसमका लागि हो भन्ने महोत्सवले पुष्टि गरेको छ,” उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई कृषि प्रणालीसँग जोड्न र विदेशीलाई नेपालीको परम्परागत कृषि प्रणाली जानकारी दिन पनि महोत्सव सार्थक भयो ।”
पाँच हल गोरु, रोपाहार, खेतालासहितको उत्सवमा पर्यटक दौड, स्थानीयको दौड, माछा समात्ने, रस्साकस्सी, हिलोमा घैटो फुटाउने प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमसमेत भएको थियो । महोत्सवमा कलाकारहरु राजु परियार, शिवहरि ढुङ्गाना, जीवन दाहाल, तुलसा जिसी लगायतले सांस्कृतिक प्रस्तुति राख्नुभयो ।
समारोहमा पोखरा महानगरपालिकाले दुई कृषकलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्कालाई सम्मान गरिएको हो । उहाँहरूलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्यले नगद र सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालन गर्नुभएको छ भने कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गर्नुभएको छ ।