तनहुँ, साउन १ — सामाजिक तथा शैक्षिक व्यक्तित्व तथा जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९ का क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विजयराज भण्डारी ले तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेद–वेदाङ्ग संस्कृत गुरुकुल विद्यापीठ लाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ।
शुक्रबार आयोजित कार्यक्रममा गुरुकुलमा अध्ययनरत २२५ जना बटुकका लागि शैक्षिक सामग्री गुरुकुलका सहायक प्राचार्य रवि रिमाल लाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै भण्डारीले आफ्ना पिता भोजराज भण्डारी ले गलेश्वर आश्रमको विकासमा पुर्याउनुभएको योगदानबाट प्रेरित भएर आफू सामाजिक सेवामा सक्रिय रहेको बताउनुभयो। उहाँले आफ्नो सानो सहयोगले गुरुकुलका विद्यार्थीहरूमा अध्ययनप्रति थप लगाव, उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभयो।
ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय, पोखराका पूर्वप्रधानाध्यापक समेत रहेका भण्डारीले गुरुकुल, मठ–मन्दिर तथा गुम्बाहरूमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यस आश्रमको विकासका लागि सबै सरोकारवालाको सक्रिय चासो आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस कास्कीका वरिष्ठ उपाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम कँडेल ले भण्डारीले शिक्षा लगायत सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँका अनुसार भण्डारीले यसअघि पनि विभिन्न सामुदायिक विद्यालयमा आर्थिक तथा शैक्षिक सहयोग गर्दै आउनुभएको छ।
भण्डारीले त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय, पोखरा–३० लाई २ लाख रुपैयाँ, लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ लाई १ लाख रुपैयाँ, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ लाई १ लाख रुपैयाँ, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष तथा शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नुभएको कँडेलले जानकारी दिनुभयो।
गत शैक्षिक सत्र २०८२ मा पनि भण्डारीले विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक, न्यानो कपडा, स्वेटर तथा स्टेशनरी सामग्री वितरणलाई निरन्तरता दिनुभएको थियो। उहाँले रूपा गाउँपालिकास्थित श्री माइ मैदान आधारभूत विद्यालयका २५ जना, कल्प आधारभूत विद्यालयका २५ जना तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गर्नुभएको जानकारी दिइयो।
कार्यक्रममा भण्डारीकी बुहारी, राष्ट्रिय कलाकार तथा सामाजिक व्यक्तित्व बसन्त रानाभाट र पत्रकार ऋषिराम रानाभाट को पनि उपस्थिति रहेको थियो।
गुरुकुलका सहायक प्राचार्य रवि रिमालले गुरुकुलमा संस्कृत शिक्षा, अध्यात्म र दर्शनसँगै समयानुकूल कम्प्युटर शिक्षा समेत प्रदान गरिँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार सनातन धर्म, संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यहाँ कक्षा ६ देखि शास्त्री तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइँदै आएको छ। हाल गुरुकुलमा करिब २५० जना बटुक अध्ययनरत छन्।
कार्यक्रमअघि सहयोगदाता विजयराज भण्डारीले आश्रमका पीठाधीश अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।









