लेखनाथ, असोज २४ ।
पोखरा महानगरापलिका वडा नं.३१ बेगनासको पर्यटकीय स्थल बेगनास ताल किनारमा आगामी कात्तिक १३ गते देखि २३ गतेसम्म ‘छैटौँ बेगनास माछा महोत्सव सञ्चालन हुने भएको छ। होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
वि.सं. २०७६ मा पाँचौँ फिस फेस्टिबल सम्पन्न भएकोमा यस वर्ष त्यसैको निरन्तरता स्वरूप छैटौँ संस्करण आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरेश लामिछानेले जानकारी दिनु भयो ।
लामिछानेका अनुसार बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने महोत्सवको उद्धेश्य रहेको छ ।
व्यवसायिक तथा सामाजिक विकाससँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछाहरूको जानकारीमूलक प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय कलाकारहरूको बेजोड सास्कृतिक प्रस्तुति, पप कन्सर्ट र देउसी–भैलो प्रतियोगिता मुख्य आकर्षणका कार्यक्रमहरु रहेका छन् । यसै गरी विभिन्न कम्पनीहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रदर्शनी तथा बिक्री, बेगनास र वरपरका पर्यटकीय महत्वका स्थानहरूको जानकारीमूलक प्रदर्शनी अन्य आकर्षणका कार्यक्रहरु रहेका छन् ।
यस कार्यक्रममा गोर्खा ब्रुअरी नेपाल मुख्य प्रायोजकको रुपमा रहेको छ भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश सरकार गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ३१ लगायत विभिन्न स्थानीय संघ–संस्थाको आर्थिक सहयोगमा महोत्सव सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले महोत्सवलाई भव्य र सफल बनाउन सञ्चारकर्मी, स्थानीय व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक एवं सर्वसाधारण सबैलाई साथ, सहयोग र सहभागिताका लागि अपिल गरेका छन्। यस फेस्टिबलले समग्र लेखनाथ क्षेत्रको पर्यटन विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन यस्ता महोत्सव उपयोगी हुने बताउनु भयो । स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवद्र्धनमा महानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासमा जोड दिनुपर्ने बताउनु भयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्र रहेका आठवटै ताललाई पर्यटकीय सम्भावनाका आधारमा व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले तालहरूको पहिचान र विशेषताअनुसार नामकरण तथा प्रवद्र्धन गर्दै पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सुझाव दिनु भयो । एउटा ताललाई वाटर स्पोट्र्स केन्द्रका रूपमा विकास गर्न सके पानीमा रमाउन चाहने पर्यटक आकर्षित गर्न सकिने उहाँको भनाइ थियो। यस्ता कार्यक्रमले पर्यटन व्यवसायीबीच सहकार्य र एकता को सकारात्मक सन्देश दिने उहाँको भनाई थियो ।
एसोसिएसनका संस्थापक अध्यक्ष एवम् महोत्सव निर्देशक दुर्गाप्रसाद अधिकारीले स्वागत गर्दै आफू संयोजक भएर २०७१ सालदेखि सुरु गरिएको फिस फेस्टिभलको पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म महोत्न्सव आयोजना गर्न नसकिएको स्पष्ट पार्नु भयो । कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै लोप हुँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण, विभिन्न जातका माछाका परिकारको प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले छैटौँ संस्करण आयोजना गर्न लागिएको उहाँले स्पष्ट पार्नु भयो ।
एसोसिएसनकी महासचिव शक्ति श्री कोइरालाले पोखराका साथै लेखनाथको क्षेत्रमा पनि सामाजिक, धामिर्क, पर्यटनका क्षेत्रमा विकास गर्ने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको बताउँदै कार्यक्रमका बारेमा समाचार सम्प्रेषण गरी सहयोग गरिदिनुहुन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
महोत्सव सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । पोखरा महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टल लगायत स्रोतबाट खर्च व्यवस्थापन गरिने महासचिव कोइरालाले जानकारी दिनु भयो ।
कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख प्रभा भुजेलले अन्तर्राष्ट्रिय भाषाको अध्ययन–अध्यापन गराउँदै आएको कसमस इन्टरनेसनल कलेज पर्यटन क्षेत्रसँग जोडिएर यस क्षेत्रको समग्र विकासमा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
एसोसिएसनका अध्यक्ष सुरेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका महासचिव शक्ति श्री कोइरालाले गर्नु भएको थियो ।








