काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर पार्टी नटिक्ने बताएका छन् । पार्टीको १५औँ महाधिवेशनमा उनले आजको प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।
“हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ?,” उनले भने, “त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।”
उनले कांग्रेसको कोठाबाट बाहिर निस्कनुपर्ने बताए । “कांग्रेस नभएको एउटा १८ वर्षको युवकलाई भेटेर सोधौँ त उसले सोध्ने प्रश्न के छ ?,” उनले भने, “२००७, ०४६ साल, ०६२/६३ मा थिएन उ । तर, इतिहासलाई उसले माया गर्छ ।”
अहिले त्यो युवाले राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि आफ्नो पेट पाल्न सक्ने राम्रो काम नेपालमा पाउँछु कि पाउँदिन भन्ने प्रश्न रहेको बताए । विगतमा प्रश्नहरूको उत्तर कांग्रेससँग भएकाले मात्रै टिकेको बताए । अब त्यसो नहुने उनको भनाइ छ ।
सभापति थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्। १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।
जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए।
थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।
‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।
सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।
थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उनको धारणा थियो।
पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।
उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे।
‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।
१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए।








