काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले जनतासँग गरेका बाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका हुन्।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए त्यो केवल कागजमा मात्रै सीमित हुने उनले बताए। सुशासन केवल नारामा सीमित नभई कार्यान्वयनको विषय भएको बताउँदै प्रधानमन्त्रीले सरकारले यस दिशामा काम गरिरहेको जानकारी दिए।

देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उनको भनाइ छ। ’संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिवद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमानदार भएनन् भने त्यो कागजमा मात्रै सीमित हुन्छ,’ उनले भने, ’म प्रष्ट भन्छु– यो शुरूआत हो अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्ने हातहरू अझै बलिया छन्। सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ। सुशासन नारा होइन काम हो– हामी काम गरिरहेका छौँ। हामी पुरानै बाटोमा हिँड्ने छैनौँ।’