पोखरा, असार १० । “पोखरा सबै मौसमका लागि” भन्ने नाराका साथ पोखरा पर्यटन परिषद् ले २१ औँ असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा आयोजना गर्ने भएको छ ।
परिषद्ले बुधबार पत्रकार भेटघाट मार्फत महोत्सवको तयारी र उद्देश्यबारे जानकारी दिएको हो।
यसअघि प्रत्येक वर्ष असार १५ गते आयोजना हुँदै आएको महोत्सव यस वर्ष पूर्णिमा परेकाले किसानले हलो नचलाउने सामाजिक परम्परालाई सम्मान गर्दै असार १४ गते आयोजना गरिने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख हुँदै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो। साथै, खेतीयोग्य जमिनको संरक्षण, कृषकको सम्मान तथा “हिलोमा एक पटक, देशको माया सय पटक” भन्ने सन्देशलाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई अघि बढाइएको छ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै पोखरा भ्रमण वर्ष सफल बनाउनु रहेको बताउनु भयो । पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी दिने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको सो अवसरमा उहाँले जानकारी दिनु भयो ।
महोत्सवमा राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी लगायतका राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।
त्यसैगरी हल गोरु दौड, असारे भाका सहितको रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिनेछ। साथै उत्कृष्ट कृषकलाई सम्मान गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनु भयो ।
महोत्सवको स्थानीय आयोजना वडा स्तरीय कृषि सञ्जाल पोखरा–३० ले गर्नेछ। कार्यक्रममा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका तथा पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयको सहयोग तथा प्रवद्र्धन रहनेछ।
महोत्सव सफल बनाउन परिषद्का महासचिव जीवनराज सापकोटाको संयोजकत्वमा ४३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले पोखरा ३० वडा कार्यालयले विगत दुई वर्ष देखि रोपाई महोत्सव गर्दै आएको बताउँदै यस वर्ष पोखरा पर्यटन परिषदसँग सहकार्य गरेर महोत्सव गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो । रोपाई महोत्सव समग्र पोखरेलीको महोत्सवका रुपमा लिन आग्रह गर्दै महोत्सवका बारेमा सञ्चालन माध्यमबाट प्रचार प्रसार गरिदिन पत्रकारहरुलाई उहाँले आग्रह गर्नु भयो ।
यसै गरी पोखरा महानगरपालिका आर्थिक प्रसासन महाशाखा प्रमुख एवम् पोखरा भ्रमण वर्ष सदस्य सचिव मनोहर कडरियाले महोत्सवले कृषकहरुलाई प्रोत्साहन गर्ने बताउँदै रोपाई महोत्सवले विगतका वर्षहरुमा सकारात्मक प्भाव पारेको उल्लेख गर्नु भयो ।
कृषि योग्य जमिन बाँझौ रहेको अबस्थामा यस कार्यक्रमले आगामी दिनमा नयाँ पुस्तालाई समेत कृषि क्षेत्रमा लाग्न मद्धत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
यसै गरी पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पर्यटन बोर्डका वरिष्ट प्रबन्धक युवारज गुरुङले विगतका वर्ष जस्तै यस वर्ष पनि पोखरा पर्यटन परिषदले आयोजना गर्न लागेको २१ औं असारे रोपाई महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन सबैमा आग्रह गर्नु भयो । यसै गरी लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष जानुका पराजुलीले लेखनाथमा भएको कृषियोग्य भूमिलाई प्रवद्र्धन गर्न आवश्यकता भएको बताउनु भयो । कृषि लाई पेसाका रुपमा लैजान नसकिएको टिप्पणी गर्दै पराजुलीले रोपाई महोत्सवमा विद्यार्थीहरुलाई पनि सहभागी गराएर कृषिको महत्वको बारेमा जानकारी दिन आवश्यकता औंल्याउनु भयो ।
पोखरा ३० वडा कृषि सञ्जालका अध्यक्ष बाबुराम ढकलाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन परिषदका महासचिव जीवनराम सापकोटाले गर्नु भएको थियो कार्यक्रम पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।








