पोखरा–२९ ले नागरिक सम्मान गर्ने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २२ जेठ । पोखरा महानगरपालिका वडा नं. २९ ले नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । वडाको विकासको लागी विगतदेखी वर्तमान समयसम्म विभिन्न क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेका व्यक्तिहरुलाई योगदानको आधारमा सम्मान गर्न लागिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

जेठ २५ गते शुक्रवारका दिन आयोजना गरिने सम्मान कार्यक्रमका वारेमा जानकारी दिने उदेश्यले मंगलवार राखिएको पत्रकार सम्मेलनमा वोल्दै वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले ‘सामाजिक योगदानको उच्च मुल्याङ्कन गर्दै सामाजिक पूँजी बढ्दै जाने र भविष्यको लागि पनि यस्तो सामाजिक पुँजी निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास गरिएको छ भने वडाको समग्र विकासमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरुलाई उच्च सम्मान गर्ने सोचले कार्यक्रम राखिएको वताएका थिए ।

कार्यक्रम अन्र्तगत एक जनालाई श्री गौरव पदक, दुई जनालाई श्री रत्न पदक र सात जनालाई श्री गरिमा पदक प्रदान गरिनेछ । वडाको सर्वोत्कृष्ट सम्मानको रुपमा रहेको गौरव पदकमा आधा तोला सुनको तक्मा, सम्मान पत्र र दोसल्ला रहेको छ भने उत्कृष्ट सम्मानको रुपमा रहेको श्री रत्न पदकमा तीन तोला चाँदीको तक्मा सम्मान पत्र र श्री गरिमा पदकमा एक तोला चाँदीको तक्मा, सम्मान पत्र र दोसल्ला प्रदान गरिने छ ।

सम्मान प्रदान गर्नको लागी यसअघि नै वडा समितिको निर्णय वमोजिम ठाकुर प्रसाद घिमीरेको संयोजकत्वमा सात सदस्यीय नागरिक सम्मान छनौट समिति गठन गरिएको थियो । समितिले विभिन्न मापदण्ड तयार पारी टोल विकास संस्था, आमा समुह लगायत विभिन्न संस्थाहरुद्धारा नेतृत्वमा रहेका र सामाजिक व्यक्तित्वहरुको नाम आह्वान गरी सोही मापदण्डको आधारमा १० जना व्यक्तिहरुको नाम सिफारिश गरिएको थियो । उक्त समितिको सिफारिस र वडा समितिको निर्णय बमोजिम सम्मान प्रदान गर्न लागिएको हो ।

यसरी वितरण गरिने सम्मान एउटा ऐतिहासिक र अनुपम कार्य हुने विश्वास लिइएको र यसले सामाजिक पूँजी निर्माण गर्दै समाजमा भएका युवा पुस्तालाई समाज सेवामा उत्प्रेरित गराउने विश्वास लिईएको वडा सचिव दुर्गा न्यौपानेले बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्