‘गणेशमानले रुँदै पार्टी छाड्नुभो, मैले विद्रोह गरें’

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । पञ्चायत विरोधी आन्दोलनका क्रममा बीपी कोइराला स्याङ्जाको आम सभालाई सम्बोधन गर्न पुग्दा प्रहरीले गोली चलायो । बीपीलाई युवा तथा विद्यार्थी परिचालन कमिटीका संयोजक रहेका कास्कीका महादेव गुरुङले बचाए । आफूलाई बचाएका गुरुङलाई बीपीले त्यतिबेलै नेपाल विद्यार्थी संघको महामन्त्री बनाइदिए ।

ज्ञानेन्द्रबहादुर कार्की नेविसंघको अध्यक्ष हुँदा महामन्त्री बनेका गुरुङ गिरिजाप्रसाद कोइरालाका पनि प्रिय थिए । शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा बालकृष्ण खाँण पनि उतै लागेपछि गिरिजाप्रसादले गुरुङलाई तरुण दलको अध्यक्ष बनाएका थिए । २०५६ सालमा कास्की क्षेत्र नम्बर २ बाट चुनाव जितेर पर्यटन राज्यमन्त्री भए । कास्कीमा हक्की र केन्द्रीय नेताहरूसँग नडराई आफ्ना कुरा राख्न सक्ने नेताको परिचय बनाएका गुरुङले २०७० सालमा टिकट पाएर पनि जित्न सकेनन् ।

२०७४ सालमा टिकटै नपाएका गुरुङ यसपटक समानुपातिकमा नाम सिफारिस भएर पनि परेनन् भने प्रत्यक्षको पनि टिकट पाएनन् । विचार नमिल्नेसँग गठबन्धन र देउवाले टिकट किनबेच गरेको आरोप लगाउँदै उनले बागी उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीले पाएको कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका गुरुङलाई सभापति देउवाले नाम फिर्ता लिन आग्रह गरेका थिए । तर, कारबाही सहने भन्दै उनी चुनावी मैदानमा होमिएका छन् ।

प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार महादेव गुरुङसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

लामो समय कांग्रेसको राजनीति गरेको, मन्त्री समेत भइसकेको व्यक्तिले किन बागी उठ्नुपरेको हो ?

मैले राजनीति गरेको ५२ वर्ष भएछ । मैले जुन आदर्श, मूल्य र मान्यताको राजनीति गरें, अहिलेका नेताहरूले सबै खाइदिए । अहिलेको पार्टीका नेताको आदर्श भनेको सत्तामा जाने, प्रधानमन्त्री वा मन्त्री बन्ने र कमाउने मात्र छ । त्योभन्दा अर्को केही देखिनँ ।

अहिले गठबन्धन बनेको पनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूलाई पालैपालो प्रधानमन्त्री, मन्त्री बन्न र सत्ता कब्जा गर्न मात्र हो । सत्ता केका लागि भन्दा पैसा कमाउन, भ्रष्टाचार गर्न । आज उद्योगधन्दा, व्यापार गर्ने मान्छेहरू बैंकको लोन तिर्न नसकेर, किस्ता बुझाउन नसकेर छट्पटिइरहेका छन् । तर राजनीतिक नेताहरूसँग यतिका धेरै पैसा कहाँबाट आइराखेको छ ?

शेरबहादुर देउवासँग यति धेरै पैसा छ, जसका कारण संविधानमा भएको व्यवस्था पनि उहाँले उल्लंघन गर्नुभएको छ । मन्त्री र प्रधानमन्त्री भइसकेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दैन ? शीर्ष नेतालाई जे गरे पनि छुट छ ? आज जता हेरे पनि लुट छ, भ्रष्टाचार छ । हिजो म कास्की जिल्ला विकास समिति सभापति हुँदा भ्रष्टाचार विरुद्ध लडेर आएको हुँ । सिडिओले भ्रष्टाचार र लुट मच्चाउँदा गृहमन्त्रीलाई जानकारी गराएँ, तर रोकिएन र मैले सिडियोमाथि नै हातपात गर्नुपर्ने अवस्था आयो । भ्रष्टाचार विरुद्ध आवाज उठाउन मैले कांग्रेसबाटै विद्रोह गर्नुपर्ने अवस्था आयो ।

तपाईंले टिकट पाए ठिक, नपाए सबै भ्रष्टाचारी, सबै प्रजातन्त्र विरोधी हुन्छ ?

मैले टिकट पाउनु नपाउनुसँग नजोडौं न ! मैले त कुरुप राजनीतिविरुद्ध आफूलाई उभ्याएको हुँ । आज शेरबहादुरले आफ्नो श्रीमती, अरू नेताका श्रीमती र आसेपासेलाई टिकट बाँडे । के हामीले लडेर ल्याएको व्यवस्था यसकै निम्ति थियो त ? आज महादेव गुरुङ त अन्यायमा पर्‍योपर्‍यो, अब भावी पुस्तामाथि अन्याय नहोस् र भोलि जनतामाथि अन्याय गर्ने हिम्मत नगरुन् भन्नका लागि पनि म चुनावी मैदानमा होमिएको हुँ । आज यो आन्दोलनमा मान्छेहरूले महादेव गुरुङलाई एक्लै देखेका छन्, भोलि यो अभियानमा धेरै महादेव जोडिन्छन् र हामी सफल हुन्छौं ।

कास्की–३ बाट समानुपातिकमा सिफारिस भएको थियो, तर बन्दसूचीमा नाम काटियो । तपाईंको कास्की–२ मा उम्मेदवारी, त्यही कुण्ठा र आक्रोश पनि हो भन्छन् नि ?

प्रचण्डजी कहाँबाट लड्छु भनेका थिए, कहाँबाट लडे ? प्रदीप पौडेल कहाँबाट लड्छु भनेर कहाँबाट लडे ? नेताहरूले जहाँबाट जसरी लडे पनि हुने, म साधारण कार्यकर्ता लड्न नपाउने भन्ने त होइन होला नि ! यत्रो वर्ष राजनीति गरेको व्यक्तिले त्यसै विद्रोह गर्‍यो होला ? यो न कुण्ठा हो न आक्रोश । यो त सोची–विचारी गरिएको निर्णय हो ।

तपाईंको नाम समानुपातिक सूचीमा प्राथमिकताका साथ राखेको भए त उठ्नुहुँदैनथ्यो होला नि ?

साथीहरूले मेरो नाम समानुपातिक सूचीमा सिफारिस गर्नुभएछ । तर अहिले कांग्रेसमा कि त दाम बुझाउन सक्नुपर्छ या त नेताको पाउ मोल्न । मसँग दुवै कुरा छैन । त्यसैले अघिल्लो पटक पनि मैले टिकट नपाएकै हो र अहिले पनि टिकट पाउँदिन भन्नेमा म विश्वस्त थिएँ । मैले के सोचें भने यो नेतृत्वलाई यसरी तानाशाही बनाएर बस्न दिनुहुँदैन । तानाशाही भयो भनेर राजालाई फाल्ने, अनि शेरबहादुरलाई तानाशाही बन्न दिने ? मैले सहन सकिनँ र जनताकै बीचमा जाने निर्णय गरें ।

पैसा नबुझाएकै र नरिझाएकै कारण देउवाले टिकट दिएनन् भन्ने तपाईंको बुझाइ हो ?

शेरबहादुरले पछिल्ला केही चुनावमा पैसाकै खेलमा टिकट बाँड्नुभएको छ । म धेरै टाढा जान्नँ, कास्की क्षेत्र नम्बर २ को (ख)मा गएको चुनावमा जसले टिकट पायो, ऊभन्दा निष्ठावान र पार्टीमा क्षमतावान व्यक्ति थिएनन् ? पोखराकै पूर्व उपमेयर नरेशशंकरले पनि दाबी गर्नुभएको थियो । अरू पनि थुप्रै योग्य पात्र थिए, तर विन्दु थापाले टिकट पाउनुभयो । म धेरै कुरा भन्दिनँ, यसकै आधारमा देउवाले कसरी टिकट बाँडिरहेका छन् ? कस्तालाई बाँडिरहेका छन् ? भन्ने मैले भनिरहनुपर्दैन, जनताले बुझेका छन् ।

यो पार्टीमा गणेशमानले पनि रोएर छोड्नुभो, कृष्णप्रसाद भट्टराईले पनि छोड्नुभयो । त्यसै छोड्नुभएको त होइन नि ! उहाँहरूले नै बनाएको पार्टी थियो र त छोड्नुभो । मैले विद्रोह गर्नु नै उचित ठानें ।

शेरबहादुरजी मभन्दा राजनीतिमा आएको केही समय अगाडि होला, उहाँले पटक–पटक टिकट पाउनुभयो । रामचन्द्रजीले पटक–पटक टिकट पाउनुभयो । उहाँहरूले पाउन हुने, मैले पाउन नहुने कारण के हो त ? म योग्य छैन भने पार्टीले कारबाही गरे हुन्छ नि !

२०५६ मा चुनाव जितेर पर्यटन राज्यमन्त्री हुनुभयो, २०७० मा टिकट पाएर पनि जित्न सक्नुभएन । तपाईंले अवसरै नपाएको भन्न मिल्ला र ?

मैले टिकट पाउनुभन्दा पनि न्यायको कुरा हो । पार्टीभित्र जुन अत्याचार र पीडा खेपेको छु, त्यो मैले नै महसुस गरेको छु । मैले टिकट नपाउँदा मभन्दा राम्रो मान्छेले टिकट पायो भने त चित्त बुझाउने ठाउँ हुन्छ । जसको पार्टीमा योगदानै छैन, पैसाको आधारमा टिकट पाउनु त गलत भयो । त्यसैले विद्रोह गर्नुपर्ने अवस्था देखें र विद्रोह गरें ।

सबै टिकट नपाउने व्यक्तिले हिम्मत गर्न सक्दैनन्, महादेव गुरुङले गर्‍यो । सबै अन्यायमा परेका व्यक्तिले आवाज उठाउन सक्दैनन्, त्यो हिम्मत गर्ने मान्छे हो महादेव गुरुङ । हिजो यसरी नै पञ्चायतविरुद्ध लडेको हुँ । हिजो पोखरामा मण्डलेसँग झगडा गर्ने व्यक्ति को थियो ? अखिललाई टक्कर दिने को थियो ? म गइनँ भने साथीहरू क्याम्पस पढ्न सक्ने स्थिति थिएन । पटक–पटक पिटाइ र जेल खाएर राजनीति गरेर आएको व्यक्ति हुँ म । अनि मैमाथि अन्याय भएको कसरी सहन्छु !

शेरबहादुर देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि मान्नुभएन, पार्टीले कारबाही गरे पनि सहन्छु भन्ने हो ?

धनबहादुर नाम राख्यो भन्दैमा मान्छे धनी हुन्न । मनबहादुर नाम हुँदैमा ठूलो मन भएको हुँदैन भने झैं जुन आदर्शका साथ नेपाली कांग्रेसको राजनीति गर्‍यौं, आज नाम मात्रैको कांग्रेस भयो । पार्टीको मूल्य, मान्यता, आदर्श सबै शेरबहादुर देउवाले खाइसक्नुभयो । जुन पार्टीका लागि ५२ वर्ष बिताएँ, त्यही पार्टी नाम मात्रैको हुँदा कति पीडा मलाई छ होला ? त्यसैले कांग्रेस नाम मात्रै हुँदा म कसरी त्यो पार्टीको हुन सक्छु ?

चुनावको नतिजा आइसकेपछि पनि म हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेछु, पार्टी भित्र र बाहिर मौलाएको भ्रष्टाचार विरुद्ध बोलिरहन्छु ।

अब स्वतन्त्र हुन्छु भनेरै उम्मेदवारी दिनुभएको हो ?

पार्टीमा जुन योगदान गरें, त्यो अझै पार्टीमा बाँकी रहेको भए सहन्थें । अहिले सबै समाप्त भयो र पार्टी एउटा व्यापारीले व्यापार गरेजसरी कमाउनका लागि प्रयोग भएको छ । मेरो उम्मेदवारी त्यसको खिलाफमा पनि हो । यो पार्टीमा गणेशमानले पनि रोएर छोड्नुभो, कृष्णप्रसाद भट्टराईले पनि छोड्नुभयो । त्यसै छोड्नुभएको त होइन नि ! उहाँहरूले नै बनाएको पार्टी थियो र त छोड्नुभो । मैले विद्रोह गर्नु नै उचित ठानें ।

कांग्रेसभित्र तपाईं देउवा इतरको विचार समूहमा हुनुहुन्थ्यो, त्यहाँ बसेर लड्न सकिन्नथ्यो ?

मेरै नेताहरूको विरोध गर्न अप्ठ्यारो लागिरहेको छ । १४औं महाधिवेशनमा रामचन्द्रजीले त सभापतिमा लड्ने हिम्मत गर्नुभएन, शेखर, विमलेन्द्रलगायतले चुनाव लड्नुभयो । पहिलो चरणमा बहुमत प्राप्त गर्न नसके दोस्रो राउण्डमा शेरबहादुर देउवाविरुद्ध सबैले सहयोग गर्ने भन्ने थियो । रामचन्द्रजीले शेखरलाई सहयोग गर्नुभएन । प्रकाशमानले पनि सकेनन् भने विमलेन्द्रले त सहयोग गर्न सक्ने कुरै भएन, शेरबहादुरजी नै सभापति हुनुभयो । यहाँ कुनै पनि नेताको भरोसा भएन । मेरो राजनीति गरेदेखि बोली र व्यवहारमा फरक छैन भने नेताहरू पनि भर गर्न सक्ने भएनन् । अब मैले आफैंमाथि विश्वास गर्नुपर्छ भनेर यो प्रवृत्तिका विरुद्ध लड्ने अठोट गरें ।

तर, तपाईंको उम्मेदवारी कसैलाई जिताउन वा हराउन मात्र हो भन्छन् नि कांग्रेसका नेताहरू !

यो कुनै गठबन्धन वा कुनै पार्टीका उम्मेदवारलाई जिताउन वा हराउन होइन, महादेव गुरुङ आफैंले चुनाव जितेर संसदमा आवाज उठाउन स्वतन्त्र उम्मेदवार उठेको हुँ ।

एकातिर गठबन्धन छ, अर्कोतिर एमाले छ, तपाईंलाई के साँच्चै मैले जित्छु भन्ने लागेको छ ?

काठमाडौंमा एकातिर सिर्जना सिंह र अर्कोतिर केशव स्थापित थिए । मानिसहरूले बालेनलाई यो मधेशीले कहाँ जित्छ भनिएको थियो । धरानमा हर्क साम्पाङलाई कसले जित्छ भनेको थियो । जसले जनताको मनोभावना बुझेको छैन, उसले हो हार्छ भन्ने । जसले अहिलेको युवा र युवाको विचार बुझेको छैन, उसले हो हार्छ भन्ने । म त जनताकै बीचमा छु, २०५२ सालदेखि यहीं काम गरिरहेको छु । यहाँ रूख चुनाव चिह्न पनि छैन । वर्षौं कांग्रेसमा बिताएको व्यक्तिले पुतली चिह्नमा मत हाल्नेछन् । मंसिर ४ गतेपछि रिजल्ट हेर्नुहोला, मैले चुनाव जित्छु ।

के हो त तपाईंको चुनावी एजेण्डा ?

हिन्दू राष्ट्र निर्माण र भ्रष्टाचार उन्मूलन मेरो प्रमुख चुनावी एजेण्डा हो । जनताको दैनिकीसँग जोडिने विकासका कुरा त भइहाले । चुनावको नतिजा आइसकेपछि पनि म हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेछु, पार्टी भित्र र बाहिर मौलाएको भ्रष्टाचार विरुद्ध बोलिरहन्छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्