एसओएस गण्डकीमा सरसफाइ तथा वृक्षरोपण

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २३जेठ । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्षका लागि तय गरिएको ‘भूमि पुनःस्र्थापना, मरुभूमीकरण र खडेरी नियन्त्रण’ भन्ने मूल नाराको आदर्शमा केन्द्रित रहेर विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बूढाले बताए । सिकाइ र वातावरणबीचको तादम्य स्थापित गर्दै अगाडि बढ्न एसओएसको वातावरण उपयुक्त रहेको बताउँदै बूढाले वातावरण संरक्षणका लागि थप चिन्तनशील रहन सबै विद्यार्थीहरूलाई आग्रह गरे ।
ससाना बालबालिकालाई वातावरणमा हरियालीको महत्त्व बुझाउने अभिप्रायले विद्यालयको कक्षा नर्सरीदेखि देखि २ सम्मका विद्यार्थीहरूलाई एसओएस बालग्रामको परिसर र बालग्रामकै परिसरमा निर्मित हरित ज्ञान वाटिकाको अवलोकन भ्रमण गराइयो । वातावरण दिवस मनाउने सन्दर्भमा विभिन्न समूहमा विभाजित भएका विद्यार्थीहरूले विद्यालय परिसरभित्र सरसफाइ कार्यक्रम सम्पन्न गरे । यस क्रममा कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूले विद्यालय परिसरका विभिन्न भूभागहरू सफाइ गरे भने कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूले विद्यालय परिसरबाहिरको सडकको दायाँबायाँको भागका साथै पोखरा रङ्गशालाको दक्षिण भागको समेत सरसफाइ गरेका थिए ।
विश्व वातावरण दिवसकै उपलक्ष्यमा विद्यालय परिसरभित्रका फरक–फरक स्थानमा अशोका, धूपीलगायतका बिरुवासमेत लगाइएको विद्यालयका अर्का सहप्रधानाध्यापक प्रभास पौडेलले जानकारी दिए । विद्यार्थीहरूको नियमित सिकाइलाई वातावरणसँग जोडी उनीहरूमा यसको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराउने अभिप्रायले सरसफाइसँगै वृक्षरोपण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आफूले कक्षाकोठामा पढेका कुरालाई प्रयोगात्मक रूपमा अनुभूत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् कक्षा ९ मा अध्ययनरत छात्रा प्रजिशा गौतमले । सरसफाइ कार्यक्रममा विद्यालयका विद्यार्थीका अतिरिक्त शिक्षक तथा कर्मचारीको स्वतःस्फूर्त सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्