ऋषिराम रानाभाट
लेखनाथ , १२ साउन । पोखरा २९ पटनेरीमा रहेको चेतनशिल आमा समूहको परिसरमा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक ३२५ एल अन्तरगत रहेका लायन्स क्लब अफ वेगनास तालनगरी र लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको संयुक्त आयोजनामा विभिन्न प्रजातिका २० वटा विरुवाहरु रोपिएको हो ।
कार्यक्रममा पोखरा २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले एक घर दुइ विरुवा रोप्ने पोखरा महानगरको योजना अनुसार वडा कार्यालयले वडालाई वातावरणमैत्री बनाउने योजनालाई कार्यान्वयन गरीएको जानकारी दिए ।
अध्यक्ष गुरुङले मानविय क्षतिलाई न्यूनिकरण गर्ने र मानव जीवनमा स्वास्थ्य समस्यापनि प्रतिकुल असर नपरोस भन्ने उद्धेश्य अनुसार वडाबाट २ लाख बराबरका १ हजार ६ सय विभिन्न किसिमका ६ प्रजातिका विरुवाहरु खरीद गरी यस वडाका महिला समूहहरु मार्फत रोप्ने कार्यलाई अगाडि बढाइएको जानकारी दिए । दुइवटा लायन्स क्लबले शुरुवात गरेको आमा समूहको परिसरमा वृक्षा रोपण कार्यक्रम सकारात्मक भएको बताउँदै यस्ता कार्यलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गरे । वडा भित्र रहेका आमा समूहहरुलाई समान अवसर प्रदान गरिएको जानकारी दिंदै वडा अध्यक्ष गुरुङले एक घर एक मौरी घार योजना पनि रहेको बताए ।
यसै गरी डिष्ट्रिक विभागिय प्रमुख ऋषिराम रानाभाट, सागर लामिछाने, लायन्स क्लब अफ वेगनास तालनगरीका पूर्व अध्यक्ष शक्ति श्री तिवारी लगायतले स्वच्छ वातावरणका लागि बोटविरुवाको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा रोपिएका बोटविरुवाहरुलाई गोडमेल गरी संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
लायन्स क्लब अफ वेगनास तालनगरकिा अध्यक्ष अरुणचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा बेगनास चौतारीका अध्यक्ष निर्मला क्षेत्रीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेकी थिइन भने लायन्स क्लब अफ बेगनास तालनगरीका सचिव वर्षा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।