पोखरा, ६चैत्र । पोखरा १३ मियापाटनमा बिहीबार बिहान ७:०४ बजे चितुवाले आक्रमण गर्दा एक शशस्त्र प्रहरी हवल्दारसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट गोरखा घर भई पोखराको औद्योगिक क्षेत्र बस्ने ३० बर्षीय श्याम थापा, शशस्त्र प्रहरी हवल्दार ३६ बर्षका फटिक मगर र जिल्ला वन अधिकृत रामजी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक नरहरी अधिकारीले पोखरा न्यूजलाई जानकारी दिए।
प्रहरी निरीक्षक अधिकारीका अनुसार चितुवाले थापाको टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ । थापाको अवस्था मध्यम रहेको उनले जनाए । थापालाई चितुवाको आक्रमणबाट जोगाउन खोज्दा हवल्दार मगरको देब्रे हातमा चितुवाले आक्रमण गरेको अधिकारीले जानकारी दिए ।
स्थानीय खगेन्द्र गुरुङको घरको बाथरुममा छिरेको चितुवालाइ नियाल्ने क्रममा आक्रमण हुँदा अधिकृत श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ । चितुवालाई नियन्त्रणमा लिई बन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यस अघि २२ माघमा पोखरा – ३२ तल्लो गगनगौंडा स्थित हिमालय आधारभूत विद्यालय परिसरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सोमबार मात्रै तनहुँमा घरमै बसिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा २१ महिनाकी नाबालिका संस्कृति न्यौपाने घाइते भएकी थिईन् । गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।
चितुवाको आक्रमण बढ्दै गएपछि तनहुँका जनता त्रसित भैरहेको अवस्थामा कास्कीमा समेत चितुवाले आक्रमण गर्न थालेपछि चितुवाको आतंक रोक्न चुनौती बढेको छ । डिभिजन वन कार्यालयले हालसम्म ७ वटा चितुवा नियन्त्रणमा लिइसकेपनि चितुवाको आक्रमण रोकिएको छैन।
तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले लगातार आतङ्क मच्चाइरहेको छ ।
तनहुँमा २० महिनाको अवधिमा चितुवाको आक्रमणबाट ९ जना बालबालिकाले ज्यान गुमाएका छन् ।