उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा गर्नु पहिलो प्राथमिकता: गिरी, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

  • ख-
  • ख+

काठमाडौं । पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले अहोरात्र काम गरिरहनु भएको छ । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता भनेको हाम्रा उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा गर्नु हो । पछिल्लो तथ्याङ्क अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरु मध्ये ताप्लेजुङ्गमा २ जना, काभ्र्रेमा १ जना कैलालीमा २ जना पर्सामा १ जना सुर्खेतमा २ जना बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवालनपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाइसक्नुभएको छ भने ११९ जना हाम्रा लघु, घरेलु तथा साना उद्यमीहरु कोभिड संक्रमित भई उपचारमा हुनुहुन्छ । यस्तो बेला हामी देशभरका आम जनसमुदाय र हाम्रा लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्घारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आब्हान गर्दछौं ।
कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजश्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दु:खद कुरा हो । अहिले सवै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा छैनौं । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ ।
यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत विर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेका छन् । यस सन्दर्भमा हामी सम्बन्धित बैंकहरुलाई बैंकर्स एसोसिएनसन मार्फत यस्ता निर्णयहरु सच्याई कोभिड प्रकोपको यस परिस्थितिमा सुमधुर व्यवसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थाहरुसँग हार्दिक अनुरोध गर्दछौं ।
पुनकर्जाका सम्बन्धमा राष्ट्र बैंकले प्रस्ताव गरेको पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफना उद्यम व्यवसायमा काम गर्ने कामदाहरुलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागु हुने अवस्था रहेको छैन । मूलत सरकारले यो व्यवस्था जारी गरिसकेपछि लघु, घरेलु र साना उद्योगको हकमा लागु गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर शुरु भई सम्पूर्ण उद्योग व्यवसाय बन्द भएको जग जाहेर छ । त्यसैले पुनकर्जा कायविधिमा प्रतिकुल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी सम्बन्धित निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधि, नेपाल राष्ट्र बैंक, घरेलु कार्यालय, कर कार्यालय र सम्बन्धित बैंकको प्रतिनिधि समेत रहेको अनुगमन तथा छानबीन समितिको सिफारिशको आधारमा पुनकर्जा दिने प्रवधान राख्न नेपाल राष्ट्र बैंकसँग हामी हार्दिक अनुरोध गर्दछौं ।
कामदारको न्यूनतम पारिश्रमिकको हकमा ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दु:खद कुरा हो । त्यसैपनि लघु, घरेलु तथा साना उद्योगीहरु कोरोना लगायतका प्रतिकुलताका कारण कतिपय बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा छन् । न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको यो व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पुर्‍याउने निश्चित छ । त्यसैले त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमति अनुसार रु. सात सय बढाउने पक्षमा महासंघ रहेको हुँदा यो विषयमा विचार गर्न नेपाल सरकार र टे«ड युनियनका साथीहरुसँग नेपाल घरेलु तथा साना उद्योग महासंघ हार्दिक अनुरोध गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्