
सिन्धुली- सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो ।
शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कामको लागि टिबिए मेसिनको स्विच अन गरि सुरु गरेपछी सुरुङ्ग खन्न सुरु भएको हो ।
अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गरेको हो । यो भेरी-बबई डाइभर्सन परियोजनामा प्रयोग भएकै प्रविधि रहेको आयोजनाले जनाएको छ ।
ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै १३.३ किलोमिटरको सुरुङ खनिसक्ने गरी गरी तालिका बनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सन संरचना निर्माण गरि सुनकोशीको पानी मरिणमा खसालिने छ । सुनकोशी नदीको करीब ६७ क्यूमेक पानी सुरुङमार्फत मरिन खोलामा पुर्याइनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनबाट बाग्मतीमा मिसिएको पानीलाई सिँचाइ आयोजनामार्फत मधेशमा सिँचाइ सुविधा पुर्याउने योजना छ ।
आयोजनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो परियोजनाबाट ३१.०७ मेगावाट क्षमताको जलविद्युत समेत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।
टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ । यो वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
२०७७ सालमा शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनामा अहिलेसम्म ८ प्रतिशतमा सकिएको छ । हेडवर्क्ससहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।