आज दर खाने दिन, चारदिने हरितालिका तीज आज देखि शुरु

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, भदौ ३१ । नेपाली नारीको महान चाड हरितालि तीज आज देखि शुरु भएको छ ।

विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ ।

शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । यही चलन अहिले आएर दर भएको हो ।
भोलिको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने भोलिको व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।
हुन त आजभोलि महिनौँ अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तिज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको मान्यता छ ।
वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।

आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ ।

पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्