पहिरोमा परी कास्कीमा २ बालबालिकाको मृत्यु

गाउँले मिडिया
  • ख-
  • ख+

१२ असार, काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा दुइ जना बालबालिकाको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नं.५ चितेपानी निवासी प्रकाश रानाभाटकी छोरी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको छ ।

राति करिब २ बजेको समयमा ५०÷६० मिटर माथि घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको उद्धारमा खटिएका स्थानीय केशव अधिकारीले जानकारी दिए । पहिरोले रानाभाटको घरको पसलमा विक्रिका लागि राखिएका सामानहरु समेत नष्ट भएको अधिकारीले बताए । आयुश्माको पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको बताइएको छ ।

यसै गरी पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घर पूर्ण रूपमा क्षति भएको छ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्