एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण

गाउँले मिडिया
  • ख-
  • ख+

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।

परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्