पोखरा, भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका–३१ को आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा बुधबार सम्पन्न खुला रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा अस्पतालमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै उपचाररत बिरामीहरूको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीयवासी, पार्टीका सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
रास्वपा पोखरा–३१ इकाईकी सभापति सबिता बराल कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि रास्वपा कास्की जिल्ला सभापति यदु अधिकारीले इकाई सभापति सबिता बराल कोइरालालाई ब्लड ब्याग हस्तारन्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले देशनै शोकमा डुबेको बेलामा हामी सबैले आ–आफ्नो क्षेत्रबाट बाढीमा परेकाको उद्धार तथा उपचारमा सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । यस्तो विषम परिस्थितिमा सबै नेपाली एकताबद्ध भएर आहिलेको समस्याको सामना गर्नुपर्ने आवश्यकता अधिकारीले औंल्याउनु भयो ।
कार्यक्रममा रास्वपा पोखरा–३१ इकाईकी सभापति सबिता बराल कोइरालाले मानविय सेवाको कार्यक्रममा राजनिति भन्दा माथी उठेर विपत्तीको सामाना गर्नुपर्नेमा जोड दिंदै जिवन रक्षाको लागि रक्तादन गर्न रक्तदाताहरुमा आग्रह गर्नु भयो ।
कास्की जिल्ला समिति सदस्य एकराज न्यौपाने, पोखरा महानगर सभापति योगेन्द्र के।सी, महानगर समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय सह–संयोजक राजेन्द्र सुवेदी, छिमेकी वडाका वडा सभापतिहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद ढुङ्गानाले गर्नु भएको थियो।








