गाउँले मिडिया सम्वाददाता
लेखनाथ / २१ जेठ । पोखरा ३१ बेगनासताल डुङ्गा व्यवसाय समितिको पेशागत व्यक्तित्व विकास सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।
पोखरा ३१ वडा कार्यालयको सहयोगमा र डुङ्गा व्यवसाय समितिको आयोजनामा पेशागत व्यक्तित्व विकास सम्बन्धि तालिम डुङ्गा व्यवसायमा आवद्ध सदस्यहरुलाई लक्षित गरी मंगलबार र बुधबार गरी दिन सम्म दिइएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले प्रशिक्षकहरुबाट तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै डुङ्गा व्यवसायमा समस्या पर्दा वडा कार्यालय सदैव साथमा रहेको जानकारी दिनु भयो । बेगनासतालमा डुङ्गामा सयर गर्न विभिन्न प्रकृतिको पर्यटकहरु आउने उनीहरुलाई व्यवसायमाथि नै लान्छाना लगाउने गरेको आफूलाई अनुभव भएको बताउँदै अध्यक्ष कंडेलले त्यस्तो अवस्था आउन नदिन वडा कार्यालयले ध्यान दिने र सुरक्षा निकायले पनि सहयोग गर्ने बताउनु भयो ।
झरीबादलमा मलिनो अनुहार गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका डुङ्गा व्यवसाय समितिलाई वडा कार्यालयबाट ल्यापटप, लाइफ ज्याकेट र तालिमको व्यवस्थापन गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको बताउनु भयो । जनताको खुशी नै आफ्नो खुशी बताउँदै अध्यक्ष कंडेलले डुङ्गा व्यवसाय सञ्चालन गर्दा अनुशासन र सिस्टमबाट सञ्चालन गर्न आग्रह गर्नु भयो । कालीका गण सैनिकको सहयोगमा बेगनासतालको बाँधमा रेस्क्यु टावर निर्माण कार्य हुने बताउँदै उहाँले कास्की जिल्ला प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानको छनौट गरिएको बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा प्रा.डा.कुसुमाकार न्यौपानेले डुङ्गा चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, पर्यटकसँग बोल्दा ध्यान दिनुपर्ने , डुङ्गासँग सम्बन्धि विविध विषयमा प्रशिक्षण दिनु भएको थियो । यसै गरी इलाका प्रहरी कार्यालय डाँडाको नाक प्रमुख प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले तालमा डुङ्गा चलाउनु जोखिम हुने बताउँदै यसका निति नियम , कानून लगायत विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।
समितिका अध्यक्ष रबीराज कंडेलले २०५२ साल देखि विधिवध रुपमा दर्ता भई विभिन्न कालखण्डमा संस्थाले आरोह अवरोह पार गर्दै आज प्रशिक्षण सम्म आइपुग्दा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भयो । विगतदेखि डुङ्गा व्यवसायबाट बेगनासताललाई स्वदेश तथा विदेशमा चिनाउने काम भएको बताउनु भयो । विगतमा सरकारी निकायबाट यस व्यवसाय समितिलाई कुनै किसिमको सहयोग प्राप्त नभएको जानकारी गराउँदै समितिका अध्यक्ष कंडेलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनको विकास गर्न र डुङ्गा व्यवसायीको रोजीरोटीको लागि खरिद गरिएको मोटरबोर्ट सञ्चालन हुन नपाएकोमा गुनासो गर्नु भयो । पहिलो पटक डुङ्गा व्यवसाय सदस्यहरुलाई दुइ दिन भए पनि पर्यटन प्रवद्र्धन गर्न , व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकियोस भन्ने उद्धेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । आगामी दिनमा व्यवसाय सुरक्षितका साथ सञ्चालन गर्न व्यवस्थित किसिमको काउण्टर र रेस्क्यु हाउसको आवश्यक भएको बताउँदै अध्यक्ष कंडेलले यसका लागि आ.व.२०८२ / ०८३ मा बजेट विनियोजन गरिदिनुहुन वडा समितिलाई आग्रह गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद दिनु भयो । यसै गरी पोखरा ३१ वडा कार्यालयका लेखा अधिकृत रबिन्द्र कपाडीले वडाको योजना अन्तरगत सम्पन्न भएका कार्यक्रमको बिल भरपाई सहित नियम अनुसार आवश्यक कागजातहरु समयमा नै वडा कार्यालयमा पेश गर्न जानकारी दिनु भयो ।
समितिका सहसचिव केशवराज तिवारीले सञ्चालन गर्नु भएको कार्यक्रममा सल्लाहकार चन्द्रकान्त बास्तोला, मैया पाण्डे , लेखा संयोजक नवराज बास्तोलाले प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको बताउँदै आगामी दिनमा प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।