लेखनाथ, २१ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्तरगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१९ मतदाता मध्ये ९३.०३ प्रतिशत मत खसेको हो ।
विहान ७ः०० वजे देखी शुरु भई साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । दिनभरजसो संघको परिसर व्यवसायीहरु र स्थानिय राजनितिक दलका प्रतिनिधि एवं सरोकारवालाहरुले भरिभराउ बनेको थियो । मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजे देखि शुरु गरिने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिनु भएको छ ।
विगतका निर्वाचनहरुमा भन्दा पनि चर्को चुनावी कसरत देखीएको यस पटकको अधिवेशनलाई व्यवसायीहरु एवं राजनितिक दलहरुले निकै चासोका साथ हेरेका छन ।
कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका थिए भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर अर्को गठबन्धनले पनि प्यानल खडा गरेको थियो । दुई वटै प्यानल चुनावमा विजयी हुने दाबी गर्दै मतदाता व्यवसायीमाझ पुगेका थिए ।
संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा आमने–सामने भएका हुन्। यी दुबै ठूला दलले प्रतिपक्षमा रहेको माओवादी र रास्वपालाई साथमा लिएका थिए।
संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आआफ्नो टिमबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
ओझा टिमबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी) , कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेद्वारी परेको थियो ।
यस्तै गरी खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) छन् । यस्तै महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार), एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेद्वारी दिएका थिए ।
अधिकारीका टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी) महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेद्वारी दिएका थिए ।
यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उम्मेद्वारी दिएका थिए ।
यही समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उम्मेद्वारी परेको छ । संस्थागत सदस्य पदका उम्मेद्वार वीरभद्र कंडेल दुवै समुहका साझा उम्मेद्वार बनेका निर्विरोध निर्वाचित भएका छन् ।