लेखनाथ, असोज ३ । पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले दुबईमा अलपत्र परेका आफ्ना वडाका नागरिक अमृत रानाभाटको उद्धार गर्नु भएको छ ।

रानाभाट दुई वर्षअघि कामको सिलसिलामा दुबई पुगेका थिए । तर कम्पनीले उनलाई बिचैमा निकालिदिएपछि पछिल्लो पाँच महिनादेखि अलपत्र थिए । केही समयअघि रानाभाट अलपत्र परेको भिडियो सामाजिक सञ्जालमा प्रकाशित भएपछि वडाध्यक्ष थापाले उनलाई खोज्न संयन्त्र परिचालन गर्नु भयो । दुईदिनसम्म खोजेपछि रानाभाट सोनापुरमा भेटिएको अध्यक्ष थापाले बताउनु भयो ।

भिसाको म्यादसमेत सकिएकाले उनलाई तत्कालै नेपाल फर्काउन थापाले प्रक्रिया सुरु गर्नु भयो । उनलाई आउटपास बनाएर नेपाल फिर्ता ल्याइएको हो । ‘“अमृत भाइ खाडीको चर्को गर्मीमा कैयन् दिन र रात खुला आकाशको सडकमा भोकभोकै अलपत्र परेको खबर सामाजिक सञ्जालमार्फत जानकारी आयो,’ उनले भने, ‘तुरुन्तै साथीहरूलाई भनेर उनको खोजीमा खटायौँ । अहिले भाइ नेपाल आएर परिवारमा पुनर्मिलन भैसकेका छन् ।’

रानाभाटलाई मंगलबार उनको परिवारको जिम्मा लगाइयो
‘भाइ आएपछि परिवारको आँसु पुछिएको छ । घरमा खुसीको सीमा छैन,’ वडाध्यक्ष थापा भननुहुन्छ , ‘साँच्चिकै जनताको प्रतिनिधि भई कर्तव्य पूरा गर्न पाएको महसुस गरेको छु ।’ रानाभाटलाई दुबईदेखि नेपालसम्म ल्याइपुर्‍याउन लाग्ने खर्च थापाकै पहलमा संकलन गरिएको हो । अलपत्र अवस्थामै खोजेर घरसम्म ल्याइदिएकोमा वडाध्यक्षलाई रानाभाटले धन्यवाद दिएका छन् । ‘म अलपत्र थिएँ, भाइ कहाँ छ भनेर राति खोज्दै आउनुभयो । त्यहाँबाट दुबईमा पाँच दिन राखेर काठमाडौँ ल्याउनुभयो । आज परिवार भेट्न पाएँ । साह्रै खुसी छु,’ उनले भने ।