लेखनाथ / २ फागुन ।
पोखरा महानगरपालिका वडा नं२८, माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा शिक्षा महाशाखाको समन्वयमा आयोजित उक्त कार्यक्रममा कक्षा ८, ९, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। किशोरकिशोरीहरूमा बढ्दो मानसिक तनाव न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा कोपिला नेपालकी मनोविमर्शकर्ता पबित्रा पौडेल र सगोल कास्कीकी कार्यक्रम अधिकृत बिमला केसीले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यसँग सम्बन्धित मानसिक तथा मनोसामाजिक समस्याका कारण र पहिचान, तनाव व्यवस्थापनका उपायहरू, सामाजिक सञ्जालको सही प्रयोग, अनलाइन गेम र डिजिटल जुवाको जोखिम, मनोवैज्ञानिक प्राथमिक सहायता लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले कार्यक्रमको सान्दर्भिकतामाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आयोजक र सहजकर्तालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।

कार्यक्रममा शिक्षक ऋषिराम रानाभाट तथा विद्यार्थीहरू सुप्रिया न्यौपाने, सदिक्षा क्षेत्री, स्मृति बुढाथाकी र एलन गुरुङले आफ्ना अनुभव राख्दै कार्यक्रम अत्यन्तै उपयोगी भएको र यसले विद्यार्थी जीवनमा सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा पनि यस्ता सत्रहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।