बेगनास , ३० चैत्र । लेखनाथ क्षेत्रमा नेपाली नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गर्ने तयारी अन्तर्गत बेगनास फिस फेष्टिवल २०८३ आज हुँदै छ । होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथको आयोजनामा हुने यो कार्यक्रम वेगनासताल किनारमा गरिने भएको हो ।
एसोसियसनका अध्यक्ष सुरेश लामिछानेका अनुसार, प्रत्येक वर्ष नयाँ वर्षलाई उत्साहका साथ मनाउने परम्परालाई अझ व्यवस्थित र आकर्षक बनाउन यस वर्ष विशेष रूपमा ‘माछा तथा सिपी (मोती) महोत्सव’ को अवधारणा ल्याइएको हो । लामिछानेका अनुसार, यो महोत्सव केवल मनोरञ्जनमा सीमित नभई स्थानीय स्रोत–साधनको प्रवद्र्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यले पनि आयोजना गरिएको हो ।
कार्यक्रम आज सोमबारदिउँसो २ बजे औपचारिक रूपमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख अतिथ्यतामा उद्धघाटन हुनेछ । त्यसपछि साँझदेखि रातिसम्म विभिन्न सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनेछन । आयोजक संस्थाकी महासचिव शक्ति श्री कोईरालाका अनुसार, राति १२ बजे ठीक नयाँ वर्षको आगमनसँगै विशेष स्वागत कार्यक्रम गरिनेछ, जसले सहभागीहरूलाई नयाँ वर्षको उत्साहपूर्ण अनुभूति गराउनेछ ।
महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न तालहरू—विशेषगरी वेगनास , रुपा ताल र लेखनाथका ७ वटौ ताल बाट ल्याइएका ताजा माछाहरूको प्रदर्शनी तथा बिक्री वितरण रहनेछ । साथै माछाबाट बन्ने विभिन्न परिकारहरूको स्वाद लिन पाइनेछ, जसले स्थानीय खानपान संस्कृतिको प्रचार–प्रसार हुने विश्वास आयोजकले गरिको छ । होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष विरभद्र कडेलका अनुसार, यस कार्यक्रममार्फत माछा उत्पादन र व्यवसायलाई थप प्रोत्साहन दिने लक्ष्य राखिनुका साथै समग्र यस क्षेत्रको बिकासका लागि स्थानीयहरु एकजुट छन् भन्ने सकारात्मक सन्देश दिनु पनि कार्यक्रमको उद्धेश्य रहेको कंडेलले बताए ।
यससँगै, मत्स्य अनुसन्धान केन्द्र वेगनासले सिपी अर्थात मोतीसँग सम्बन्धित सामग्रीहरूको पनि प्रदर्शनी गर्नेछ, जसले तालसँग जोडिएको जैविक विविधता र जुलोजीकल पार्क समेतको जानकारी र सम्भावनाबारे जानकारी दिनेछ ।
कार्यक्रमलाई पर्यटन बोर्ड, पोखरा महानगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ, मलिनसार तमु समाज , डुङ्गा व्यवसायी, स्थानीय क्लव, आमा समुह लगायतको सहयोग समेत रहने छ ।
सांस्कृतिक कार्यक्रमतर्फ चर्चित गायिका रचना रिमाल को विशेष प्रस्तुति रहनेछ । त्यस्तै पोखरेली ब्यान्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत स्थानीय कलाकारहरूले गीत, संगीत, नृत्य तथा भजन–कीर्तन प्रस्तुत गर्नेछन्। झाँकी र्याली, हास्य–व्यंग्य (चुट्का) र सामूहिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
समग्रमा, यो फिस फेष्टिवलले नयाँ वर्ष मनाउने परम्परालाई मनोरञ्जन, एक आपसमा शुभकामना आदनप्रदान, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्दै एक समग्र उत्सवको रूप दिने लक्ष्य लिएको छ । वेगनासताल जस्तो प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमको उद्धेश्य रहेको एसोसियसनका महासचिव शक्ति श्री कोइरालाले बताइन् ।