माझठाना, बैशाख ३१ ।
पोखरा महानगरपालिका वडा नंं २८ माझठानामा रहेको रत्नशोभा माविले शुक्रबार ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शिक्षालाई प्रविधिमैत्री बनाउँदै सीपसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनु भयो । विद्यालयको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै वडा कार्यालय शिक्षाको विकासमा सधैं सकारात्मक रहेको उहाँले उल्लेख गरे।
वडा अध्यक्ष लामिछानेले शिक्षा मात्र नभई विकास निर्माणका पूर्वाधारमा समेत वडा कार्यालयले प्राथमिकता दिएको दाबी गर्दै बजेट विनियोजन भए पनि उपभोक्ताको जागरुकताको अभावले कतिपय योजना कार्यान्वयनमा समस्या भएको गुनासो व्यक्त गर्नु भयो ।


कार्यक्रममा वडा सदस्य डाल्डा देवी भुजेलले समय सापेक्ष शिक्षा प्रणाली आवश्यक रहेको बताउँदै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । । विद्यालयलाई आवश्यक सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिनु भयो । अभिभावक, शिक्षक, विद्यार्थी, वडा समिति, पूर्वविद्यार्थी तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर विद्यालय विकासमा आफू सक्रिय रहेको उहाँले बताए।


यसै गरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य प्रकास तिवारीले विद्यालयको समग्र विकासका लागि निर्मम तरिकाले समिक्षा गर्न जरुरी रहेको बताउँदै ठोस योजना बनाएर जानु पर्ने आवश्यक रहेको बताउनु भयो । शैक्षिक विकासका लागि आफू सदैव सकारात्मक रहेको बताउनु भयो ।
यसै गरी निवर्तमान प्रधानाध्यापक किरबाबु न्यौपानेले आफू यस विद्यालयमा रहँदा यस क्षेत्रका अभिभावक, शिक्षकहरु , वडा समिति , व्यवस्थापन समिति विद्यालयको हितमा समर्पित रहेको बताउँदै आफ्नो कार्यकालमा सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न योजनाहरु पनि ल्याउन सफल भएको सो अवसरमा उहाँले जानकारी दिनु भयो ।


सोही कार्यक्रममा भूतपूर्व विद्यार्थी एसोसियसनका अध्यक्ष कालिप्रसाद भूर्तेलले यस विद्यालयको विकासका लागि भूतपूर्व विद्यार्थीहरु संस्थागत रुपमा संस्थामा आवद्ध हुन आग्रह गनुृ भयो । विद्यालयको विकासका लागि सबै एकजुट भएर साझा अवधारणा बनाएर जानुपर्नेमा जोड दिनु भयो । यसै गरी अक्षयकोष दाता विजयराज भण्डारीले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको हौसला स्वरुप पुस्तकालय अक्षयकोषको स्थापना गरेको जानकारी गराउँदै आगामी दिनमा यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने बताउनु भयो ।
यसै गरी पूर्व शिक्षक श्याम बहादुर केसीले यस विद्यालयको विकासका लागि सरोकारवाला सबैको सकारात्मक धारणा हुनुपर्नेमा जोड दिंदै बालबालिकाको दिर्घकालिन भविष्यको बारेमा सोच्न अभिभावकलाई आग्रह गर्नु भयो । जनज्योति माविका पूर्व प्रधानाध्यापक रुद्र बहादुर थापा, अभिभावक भिम बहादुर गुरुङ लगायतले सामुदायिक विद्यालयको समग्र विकासका लागि वडा शिक्षा समिति, बुद्धिजीवि,अभिभावक लगायत सबैको सकारात्मक धारणा हुनुपर्नेमा जोड दिनु भयो ।
शिक्षक पूर्ण बहादुर खत्री र विद्यार्थी स्मृती बुढाथोकीले स्वागत गर्नु भएको कार्यक्रममा प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले विद्यालयको प्रगती विवरण एवम् भावी योजना प्रस्तुत गर्नु भएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष मंगल बहादुर नेपालीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक ऋषिराम रानाभाटले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
वार्षिकोत्सवका अवसरमा शैक्षिक पुरस्कार, अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण गरिनुका साथै सरुवा भएर जानु भएका निवर्तमान प्रधानाध्यापक किरण बाबु न्यौपाने र शिक्षक भेषराज सुवेदीलाई कदरपत्रद्धारा सम्मन गरिएको थियो । सोही अवसरमा विद्यालयको बृहत्तर विकासका लागि आर्थिक सहयोग गर्ने समाजसेवी, उत्कृष्ट शिक्षक , कर्मचारीलाई समेत सम्मान गरिएको थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरेको कुरा विद्यालयका सूचना अधिकारी गोपी माया गुरुङले जानकारी दिनु भयो ।