लेखनाथ, जेठ १४ । पोखरा पर्यटन परिषदले २१ औं रोपाई मेला लेखनाथमा गर्ने भएको छ । कृषि, पर्यटन र खेलकुदलाई जोड्दै असार १४ मा ग्रान्ड लेखनाथ रोपाइँ मेला सम्पन्न गर्न परिषद र पोखरा ३० कृषि सञ्जाल बिच सम्झौता प्रकृया पूरा भएको छ ।

कृषि, पर्यटन र खेलकुदलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा ३० मा ग्रान्ड लेखनाथ रोपाइँ मेला आयोजना हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यस रोपाई मेलाको सह आयोजक पोखरा ३० वडा कृषि सञ्जाल रहेको छ भने होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथ, तथा लेखनाथ क्षेत्रभित्र रहेका विभिन्न संघ–संस्थाहरूले सहकार्य गर्ने भएका छन्।

लाकुरी युवा क्लबको प्राविधिक तथा व्यावहारिक अनुभवलाई समेत समेटेर आयोजना गर्न लागिएको रोपाई मेलामा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) को विशेष सहयोग रहने होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिनु भयो । लामिछानेका अनुसार यस कार्यक्रमले ’पोखरा भ्रमण वर्ष’ को प्रवद्र्धनमा समेत महत्त्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ।

लेखनाथमा एउटा नयाँ इतिहास रच्ने लक्ष्य राखिएको यस मेलामा विभिन्न विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ। कार्यक्रमले पर्यटकीय नगरी पोखराका दुई प्रमुख पहिचान— फेवा र बेगनास तालबीचको आत्मीयतालाई झल्काउने आयोजकको दाबी रहेको छ ।
आयोजक समितिले यस ऐतिहासिक र भव्य मेलालाई उत्कृष्ट बनाउनका लागि आम सर्वसाधारण, सरोकारवाला र सञ्चारकर्मीहरूमाझ सूचना प्रवाह गर्दै सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।