पोखरा, १९ जेठ ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको अभियानमा सक्रिय मानव अधिकार तथा शान्ति समाजले आफ्नो स्थापनाको ३ दशक पूरा गरेको छ। २०५३ जेठ १९ गते कृष्ण पहाडीको नेतृत्वमा स्थापना भएको समाजले पछिल्ला वर्षहरूमा आफ्नो कार्यक्षेत्रलाई अझ फराकिलो बनाउँदै लगेको छ। मानव अधिकार र लोकतन्त्रको वकालतसँगै भ्रष्टाचारविरुद्ध आवाज उठाउने, दण्डहीनताको अन्त्यको माग गर्ने र जलवायु न्यायको पक्षमा उभिने अभियानलाई पनि समाजले प्राथमिकतामा राख्दै आएको छ।
यसै सन्दर्भमा, संस्थाको ३० औं वार्षिकोत्सवका अवसरमा मानव अधिकार तथा शान्ति समाज कास्की शाखाले पोखरामा सोमबार एक नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। “आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक उक्त संवाद कार्यक्रममा नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूले विधिको शासन र नागरिक दायित्वमाथि जोड दिएका छन्।
कार्यक्रममा शाखाका कोषाध्यक्ष रमेश परियारले समाजको तर्फबाट १२ बुँदे अवधारणा पत्र वाचन गर्नुभएको थियो। शाखाका सचिव झलक प्रसाद तिवारीले केन्द्रको निर्देशन बमोजिम कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै टिप्पणीकारहरूलाई अवधारणा पत्रमा सीमित रहेर धारणा राख्न आग्रह गर्नुभएको थियो।
उक्त अवधारणा पत्रमाथि टिप्पणी गर्दै विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्ना सुझाव र चासो राख्नु भएको थियो । प्रमुख, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश का प्रमुख नितु गर्तौलाले नागरिकले सधैं कानुनी शासन चाहने उल्लेख गर्दै अवधारणा पत्रमा सामाजिक न्यायको क्षेत्रलाई पनि समेट्न सुझाव दिनुभयो। सरकारले अध्यादेश मार्फत देश चलाइरहेको वर्तमान अवस्था, गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका सवालहरू अवधारणा पत्रमा छुट्न नहुने उहाँको टिप्पणी थियो। उहाँले आदर्श नागरिकको सुरुवात आफ्नै घरपरिवारबाट हुनुपर्नेमा जोड दिनुभयो।
वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोलाले राज्यमा सामाजिक दायित्व नभएको आभास नागरिकले गरिरहेको बताउँदै नागरिकले पनि आफ्नो कर्तव्य बिर्सन नहुने उल्लेख गर्नुभयो। नागरिकले सरकारलाई सहयोग गर्दै समय–समयमा सम्बन्धित निकायलाई सचेत गराउनुपर्ने उहाँको सुझाव थियो।
केन्द्रीय सचिव, एवम् शाखाका पूर्व सभापति तिर्थ राज न्यौपानेले मानव अधिकार हननका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राज्यमा विधिको शासन हुनुपर्नेमा जोड दिनुभयो। सरकारले लोकतन्त्र र गणतन्त्रको व्यवस्थाप्रति खुट्टा कमाउन नहुने भन्दै नागरिक स्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो।
नागरिक समाजका संस्थापक अध्यक्ष राम बहादुर पौडेलले समाजमा बढ्दै गइरहेको दण्डहीनताले भावी पुस्तामा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गर्नुभयो। पोखरामा जारी फिर्के र बसपार्क अभियानबारे बोल्दै उहाँले भन्नुभयो, “सरकारी मापदण्ड मिचेर बनाइएका संरचनामा गरिने कार्यक्रममा हामी सहभागी हुँदैनौं। डोजर अभियान साथसाथै सुकुम्बासीहरूको उचित व्यवस्थापन पनि हुनुपर्छ।”
यस्तै, सोम बहादुर गुरुङले कानुन सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै पोखरा बसपार्कबाट सुकुम्बासी हटाउने अभियानमा भेदभावपूर्ण व्यवहार भएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो।
एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च, कास्कीका अध्यक्ष पार्वती पौडेल रेग्मीले आदर्श नागरिक समाजका लागि सबै पक्ष एकजुट हुनुपर्ने भन्दै शान्ति समाजको अभियानमा ऐक्यबद्धता जनाउनुभयो।
इन्सेकका प्रतिनिधि गणेश भण्डारीले शान्ति प्रक्रियामा समाजको भूमिका महत्त्वपूर्ण हुने बताउँदै देशको विकास संरक्षणमुखी हुनुपर्ने धारणा राख्नुभयो। जनताको सहिष्णुतालाई विस्फोट हुन नदिन सबैले जिम्मेवारीबोध गर्नुपर्ने उहाँको भनाइ थियो।
अधिवक्ता याम प्रसाद पौडेलले अवधारणा पत्रले सबै क्षेत्र समेटेको उल्लेख गर्दै यसको कार्यान्वयनमा जोड दिनुभयो। सरकारका हरेक निकायमा मानव अधिकार व्यवहारमै लागू भए मात्र यस्ता कार्यक्रम सार्थक हुने उहाँले बताउनुभयो।
स्टक मार्केट प्रतिनिधि मेघनाथ कुँवरले आदर्शविनाको समाजको विकास असम्भव रहने भएकाले हरेक नागरिकले कर्तव्यबोध गर्नुपर्ने धारणा राख्नुभयो।
शाखाका सभापति सावित्रा देवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त समापनका क्रममा सभापति सुवेदीले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै शान्ति समाजले आयोजना गर्ने आगामी दिनका कार्यक्रमहरूमा पनि यस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको बताउनुभयो।
शाखाका उपसभापति दिपलाल लाछिानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव झलक प्रसाद तिवारीले गर्नुभएको थियो।











