पोखरा, असार ७ – पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयमा वडास्तरीय वक्तृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं. ३२ को प्रायोजनमा आयोजित प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालयकी जेसीका गुरुङ प्रथम भएकी छन्।
यस्तै, गोगन माध्यमिक विद्यालयकी अर्चना गौतम द्वितीय, ब्रह्मरूपा माध्यमिक विद्यालयका हृदम पाण्डे तृतीय तथा युनिभर्स बोर्डिङ स्कुलकी परी केसी र ब्रह्मरूपा माध्यमिक विद्यालयकी निशा भट्टराई सान्त्वना स्थान हासिल गर्न सफल भए।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुले क्रमशः नगद रु ६ हजार , ५हजार, ४ हजार र २ हजार पुरस्कार प्राप्त गरेको विद्यालयका सूचना अधिकारीले जानकारी दिनु भयो ।
‘विद्यार्थी जीवनमा कृत्रिम बौद्धिकताले पार्ने सकारात्मक र नकारात्मक असर’ विषयमा आयोजित प्रतियोगितामा कक्षा ८ देखि १० सम्म अध्ययनरत ११ जना विद्यार्थीको सहभागिता रहेको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा सञ्जीव पौडेल, शान्ति भट्टराई र कोपिला न्यौपाने रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले वडाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर लगानी गर्दै आएको बताउँदै विषयगत रूपमा कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न वडा कार्यालयले योजना बनाएको जानकारी दिनु भयो ।
आगामी आर्थिक वर्षमा वडामा थप विकास योजनाहरू सञ्चालन हुने वडा अध्यक्ष कार्कीले उल्लेख गर्दै विद्यालयको आवश्यकता अनुसार योजना प्रस्ताव आएमा आवश्यक बजेट उपलब्ध गराइने स्पष्ट पार्नु भयो । विद्यार्थीलाई लगनशील भएर अध्ययन गर्न र शिक्षकलाई समयानुकूल प्रविधिमैत्री शिक्षण विधि अपनाउन पनि उनले आग्रह गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले वडाभित्रका विद्यालयबीच विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
वडा सचिव कमल खातीले वडा कार्यालयले वार्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीको क्षमता विकासका लागि निरन्तर बजेट विनियोजन गर्दै आएको र सोही कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।
पूर्व जिल्ला शिक्षा अधिकारी तथा वडा शिक्षा समितिका सदस्य नगेन्द्र रेग्मी ले समयानुकूल कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको आवश्यकताअनुसार बजेट व्यवस्थापन गर्न वडा कार्यालयसँग आग्रह गर्नु भयो । शिक्षकहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी शिक्षण गर्न पनि सो अवसरमा रेग्मीले सुझाव दिनु भयो ।
निर्णायक मण्डलका संयोजक सञ्जीव पौडेलले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रभावकारी बोल्ने सीपले जीवनका विभिन्न क्षेत्रमा सफलता दिलाउने बताउनु भयो । उहाँले प्रतियोगिताका नियम तथा मूल्याङ्कनका आधारबारे पनि स्पष्ट पार्नु भएको थियो ।
बाल क्लबकी अध्यक्ष स्नेहा शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चन्द्रा थापाले गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

गोगन माविमा धूम्रपान तथा सूर्तीजन्य पदार्थविरुद्ध सचेतना कार्यक्रम
पोखरा, असार ७ – पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयमा धूम्रपान तथा सूर्तीजन्य पदार्थविरुद्ध सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं. ३२ को आयोजना, शहरी स्वास्थ्य केन्द्र तल्लो गगनगौंडाको सञ्चालन तथा गोगन माध्यमिक विद्यालयको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक अनिशा आचार्यले धूम्रपान तथा सूर्तीजन्य पदार्थको परिचय, यसको स्वास्थ्यमा पर्ने असर, रोकथामका उपाय तथा धूम्रपान तथा सूर्तीजन्य पदार्थ ऐन, २०६८ सम्बन्धी विषयमा सहजीकरण गनुृ भएको थियो ।
शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनका कारण हुने दीर्घकालीन स्वास्थ्य समस्या, त्यसको नियन्त्रण तथा स्वस्थ जीवनशैली अपनाउने उपायबारे जानकारी गराइएको अंग्रेजी विभाग प्रमुख प्रकाश न्यौपाने ले जानकारी दिनु भयो ।