लेखनाथ, साउन १२ । पोखरा महानगरपालिका वडा नं.३०, मोहोरीयामा रहेको मोहोरीया कृषि सहकारी संस्था लिमिटेड ले आफ्ना सदस्यहरूलाई न्यूनतम ५ प्रतिशत ब्याजदरमा गाई खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ। संस्थाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीले कृषि क्षेत्रमा उत्पादनमुखी कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। सहकारीका पदाधिकारीहरू मेहनती रहेको उल्लेख गर्दै उहाँले शेयर सदस्यहरू कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष सुवेदीले कृषि उत्पादन नै देश विकासको मुख्य आधार भएको बताउँदै किसानहरूले आफ्नै खेतबारीमा पसिना बगाउन सके आर्थिक अवस्था मात्र नभई स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो।

सहकारीका अध्यक्ष अनन्त कँडेलले संस्थाको स्थापना कालदेखि नै किसानमुखी सहकारी बनाउने उद्देश्यका साथ काम गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार राज्यले गर्न नसकेको कामलाई सहकारीमार्फत अघि बढाउँदै प्रारम्भिक चरणमा १० जना किसानलाई न्यूनतम ५ प्रतिशत ब्याजदरमा गाई खरिदका लागि कर्जा उपलब्ध गराइनेछ। सहकारीकै प्रतिनिधिमार्फत गाई खरिद गरिने र ती गाईहरूको संस्थाकै नाममा बीमा समेत गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका संयोजक कृष्ण तिवारीले देशभर सहकारीप्रति नकारात्मक धारणा बढिरहेको अवस्थामा मोहोरीया कृषि सहकारीले किसानलाई प्रोत्साहन गर्ने उदाहरणीय कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो। सहकारीहरू आफ्नो मूल सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएकाले नकारात्मक धारणा सिर्जना भएको उल्लेख गर्दै उहाँले मोहोरीया कृषि सहकारीले सहकारीको सिद्धान्तअनुसार कृषि उत्पादन र किसान प्रवर्द्धनमा जोड दिएकोमा कार्यसमितिलाई धन्यवाद दिनुभयो। आगामी दिनमा परियोजनाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

स्थापना दिवसको अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित बाच्छा–बाच्छी उत्पादन कार्यक्रम मार्फत पोखरा–३१ का कमला ढकाल, पोखरा–३० का जीवन भुजेल, पोखरा–३१ का श्रवणकुमार ढकाल र पोखरा–३१ का रमेश न्यौपाने लाई प्रोत्साहनस्वरूप रु.९ हजार ५ सय का दरले नगद वितरण गरिएको थियो।

त्यसैगरी भकारो सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पोखरा–३० का बाबुराम ढकाल, पोखरा–३१ की पार्वती नेपाली तथा पोखरा–३१ का विष्णुहरि लामिछाने लाई रु.२२ हजार का दरले अनुदान प्रदान गरिएको थियो।

सहकारीका सचिव त्रिलोचन लामिछाने ले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक व्यवस्थापक सुष्मा भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो भने कोषाध्यक्ष रवि बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको सचिव लामिछानेले जानकारी दिनु भयो ।