मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर बरंजा महेश धापुङ ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मंगला गाउँपालिका ३ पखेर बरंजा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।
मंगला गाउँपालिका ३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मंगला ३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।
प्रदेश सरकारले १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग ५ करोड ८६ लाख ३ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।
गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ ३ किलोमिटर ५ सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष १ करोड ५० लाख बजेट छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताए ।
प्रदेश सरकारमार्फत पखेर–बरङजासहित म्याग्दीमा एकै साथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।