माझठाना, १४ साउन । पोखरा महानगरपालिका–२८, माझठानास्थित श्री रत्नशोभा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।
बुधबार सम्पन्न अभिभावक भेलाले राष्ट्रिय शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) बमोजिम सन्तबहादुर बुढाथोकी र जीवनप्रसाद तिवारीलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा निर्वाचित गरेको हो।
भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै माझठानाको गौरवका रूपमा रहेको यस विद्यालयको विकासमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।
“यो विद्यालय हाम्रा पूर्वजहरूको योगदानबाट स्थापना भएको हो,“ उहाँले भन्नुभयो, “अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा सबै सरोकारवालाको सहकार्यबाट विद्यालयका समस्या समाधान गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक छ।”
विद्यालयको शैक्षिक विकासका लागि वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर प्रदान गरिएको उल्लेख गर्दै वडा अध्यक्ष लामिछानेले सबै पक्ष जिम्मेवार बने विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) अनुसार विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो।
उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट निर्वाचित चार जना सदस्य, प्रधानाध्यापक सदस्य–सचिव, शिक्षक प्रतिनिधि सदस्य तथा वडा कार्यालयबाट मनोनित एक जना सदस्य गरी सात सदस्यीय समिति रहने व्यवस्था छ।
“जहाँ अभिभावकको अपनत्व हुन्छ, त्यहाँ शैक्षिक गुणस्तर र भौतिक संरचना दुवै सुदृढ हुन्छन्,” वरिष्ठ शिक्षा अधिकृत सुवेदीले भन्नुभयो। विद्यालयको समग्र विकासका लागि समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजका बौद्धिक व्यक्तित्वहरूले विद्यालयलाई राजनीतिक प्रभावभन्दा माथि राखी अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिँदै नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयका पूर्व शिक्षक श्यामबहादुर केसीले विद्यालयमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिँदै शिक्षक तथा कर्मचारी विद्यालयप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो।

“पदीय जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह नगरे समाजमा नैतिक तथा सामाजिक विचलन बढ्न सक्छ,” उहाँले भन्नुभयो। “विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीले योजनाबद्ध र इमान्दारीपूर्वक काम गरे विद्यालयको चौतर्फी विकास सम्भव छ।”
कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य कमल थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू इन्द्रबहादुर थापा, शिव अधिकारी तथा मोहन गुरुङको उपस्थिति रहेको उक्त अभिभावक भेला शिक्षक–अभिभावक संघका अध्यक्ष मंगलबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
गत वर्ष साउनमा सम्पन्न अभिभावक भेलाबाट अनिता भूर्तेल र मुना लामिछाने विद्यालय व्यवस्थापन समितिको सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको थियो। यसपटक रिक्त रहेका दुई सदस्य पदमा सन्तबहादुर बुढाथोकी र जीवनप्रसाद तिवारी सर्वसम्मत रूपमा निर्वाचित भएसँगै अभिभावकबाट निर्वाचित सदस्यहरूको संख्या चार पुगेको छ। यसै गरी मादी गाउँपालिका ५ ध्रुव माविबाट सरुवा आउनु भएका मावि तहका अंग्रेजी वषय शिक्षक रामबाबु पौडेललाई सो अवसरमा स्वागत गरिएको थियो ।