पोखरा, असोज ८ । पोखरा महानगरपालिका वडा नं. २८ माझठाना स्वास्थ्य चौकीमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कोशिशको आयोजना र माझठाना स्वास्थ्य चौकीको व्यवस्थापनमा सम्पन्न भएको उक्त सचेतना कार्यक्रममा कोशिशका प्रतिनिधि सम्झना पौडेलले सहजीकरण गर्नु भयो ।
सहजीकरणका क्रममा पौडेलले आत्महत्या रोकथाम दिवसका सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिंदै पौडेलले आत्महत्या गर्नुका कारणहरु, आत्म हत्या गर्न खोज्ने मानिसले गर्ने संकेतहरु, आत्महत्या गर्न प्रेरित गर्ने माध्यहरु, आत्महत्या रोकथामका लागि सञ्चार माध्यमको भुमिका, विद्यालयको भुमिका लगायतका विविध विषयमा सहजीकरण गर्नु भएको थियो ।
विश्वमा ४० सेकेण्डमा १ जना व्यक्तिले आत्महत्या गर्ने तथ्याङ्क प्रस्तुत गर्दै पौडेलले आर्थिक वर्ष २०८२÷८३ मा नेपालमा ७ हजार १ सय ४० जनाले आत्महत्या गरेको जानकारी दिनु भयो । नेपालमा सरदर दैनिक २० जनाले आत्महत्याका कारण ज्यान गुमाएको बताउनु भयो । सहजीकरणका क्रममा पौडेलले एक दशकमा नेपालमा आत्महत्याको आवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्दै सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्याको तथ्याङ्क रहेको बताउनु भयो ।
यसै गरी कोशशका अनुगमन तथा मूल्याङ्कन अधिकृत सचिन पोखरेलले आत्महत्या रोकथामका लागि नेपाल सरकारले गरेका प्रयासहरु, आत्महत्या रोकथामका लागि प्रमुख रणनितिहरु, आत्महत्या रोकथामका लागि समुदायको भुमिका लगायतका विविध विषयमा सहजीकरण गर्नु भएको थियो । आत्महत्या रोकथामका लागि यसको कारण समयमै पहिचान गर्नुपर्ने, यस्ता व्यक्तिहरुलाई सहयोग गर्नुपर्ने, समुदायमा सुरक्षित बातावरण बनाउनुपर्ने र सञ्चार माध्यमले पनि आत्महत्या रोकथामका लागि सकारात्मक समाचार, सन्देशहरु प्रवाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा पोखरा २८ का कार्यवाहक वडा अध्यक्ष बिरेन्द्र भण्डारीले सामाजिक सञ्जालका कारण समाजमा आत्महत्या सम्बन्धि घटनाहरु वृद्धि हुँदै गएको बताउँदै घर परिवारको वातावरण पनि आत्महत्याको कारण बनेको उल्लेख गर्नु भयो । घरपरिवारमा बालबालिकालाई सानै देखि असल आचारण, नैतिक शिक्षा, राम्रो वातावरण दिन सकेमा आत्महत्याका घटना रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । अहिलेको समाज व्यक्तिवादी भएको गुनासो व्यक्त गर्दै भण्डारीले समाजमा एकले अर्कोलाई सहयोगको भावनाको विकास हुनुपर्नेमा जोड दिनु भयो । समाजका विकृति , विसंगति एवम् अपराधिक घटना रोकथामका लागि २४ सै घण्टा सहयोग गर्न वडा कार्यालय तयार रहेको स्पष्ट पार्नु भयो ।
यसै गरी वडा सचिव महेश्वर आर्यालले मानिसको स्वास्थ्य नै महत्वपूर्ण भएको बताउँदै समाजका हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनु भयो । जीवन रक्षाको प्रमुख चुनौति रहेको बताउँदै अर्यालले समाजमा हुने आत्महत्या रोकथाम एवम् अन्य विकृति र विसंगति रोकथामका लागि वडा कार्यालय सँधै तयार रहेको बताउँदै यसका लागि समाजका कृयासिल सामाजिक संघ संस्थाहरुले सकारात्मक भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
यसै गरी रत्नशोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पं्रसाद पौडेलले समाजमा आत्महत्याको घटा वृद्धि हुदै जानु चिन्ताको विषय भएको बताउँदै यस कार्यक्रमले केही हद सम्म आत्महत्या रोकथामका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । आत्महत्या लगायत अन्य सामाजिक विकृति एवम् विसंगति रोकथामका लागि विद्यालयबाट सचेतना कार्यक्रमहरु, विद्यार्थीहरुलाइृ सचेत गराइरखिएको जानकारी दिनु भयो ।
माझठाना स्वास्थ्य चौकीका प्रमुख बिनोद तिवारीले समाजका विकृति र विसंगति रोक्न सक्दो पहल गरिरहेको जानकारी दिंदै विभिन्न सामाजिक संघ संस्थाहरुले गर्ने सचेतनामुलक कार्यक्रममा स्वास्थ्य चौकीले हातेमालो गर्दै सक्दो सहयोग गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा रत्नशोभाका शिक्षकहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, स्वास्थ्य स्वयम सेविकाहरु, स्वास्थय चौकीका कर्मचारीहरु ,सामाजिक व्यक्तित्वहरु लागयतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको माझठाना स्वास्थ्य चौकीका प्रमुख बिनोद तिवारीले जानकारी दिनु भयो ।








