वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।
यसै गरी डडेल्धुरामा यो बर्षको पहिलो पटक आज हल्का हिमपात भएको छ । मौषम बदली संगै सोमबार बिहानै देखी भएको हल्का बर्षा संगै जिल्लाको उच्च लेकाली भेगमा मिहपात भएको हो । जिल्लाको हगुल्टे लेक,साहुखर्क, लगयातका उच्च लकाली भेगमा हिमपात भएको छ ।
हिमपात संगै ज्लिामा चिसो बढेको छ । चिसोका कारण वृद्धवृदा कासाथै बालबालिका वढी प्रभाबित भएका छन् । चिसो बढेपछि मानिसहरु आगो तापेर बसेका छन् ।
यसै गरी आइतबार राती देखी बाजुरामा वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।
हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको बताइएको छ ।
यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।
यसै गरी दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ ।
हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ ।