पर्यटनको राजधानी पोखरामा मङ्गलवार देखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ सुरु भएको छ । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा उक्त महोत्सव सुरु भएको हो ।
यही पुस १७ गते (जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै प्रदेशको राजधानी पोखरामा साहसिक खेलकुदको केन्द्र नै भएको बताउनु भयो । पोखराको पर्यटन प्रवर्द्धनमा साहसिक खेलकुद गतिविधिले महत्वपूर्ण भूमिका खेल्दै आएको सन्दर्भमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन एउटा इट्टा थप्ने बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेले पोखरामा उक्त महोत्सवले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने बताउनु भयो । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा यस्ता महोत्सवले पोखराको पर्यटन क्षेत्रमा नयाँ ब्राण्ड थपिने हुँदा यसलाई निरन्तरता दिन सुझाव दिनु भयो ।
उक्त महोत्सवका ब्राण्ड एम्बेसडर महानायक राजेश हमालले पोखराको पर्यटन प्रबद्र्धनमा हर्ट एयर बेलुन महोत्सव नयाँ गन्तव्य हुने बताउनु भयो । पोखराको फेवातालमा हुने डुङ्गा सयर देखि सुरु भएको साहसिक खेल गतिविधि हाल धेरै बढेको उहाँले दाबी गर्नु भयो ।
पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रदर्शन भएको परिषद्का महासचिव जीवनराम सापकोटाले बताउनु भयो । ९ दिन सञ्चालन हुने महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । पोखराको आकाशमा एकै पटकमा १७ वटा हर्ट एयर बेलुन आजबाट उड्न सुरु भएको अध्यक्ष वाडेले जनाउनु भयो ।
पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी हुने भएको आयोजकले जनाएको छ ।