यही पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिभलको तयारी स्वरूप सहभागी टोलीहरूले पोखराको फेवा तालमा पूर्वाभ्यास गरिरहेका छन् । ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहनेछ ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ ।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएसनको सह–आयोजनामा पोखरामा फेस्टिभल आयोजना गर्न लागिएको हो ।