लेखनाथ, २० माघ ।
युवा अवस्थामा साथीसँग घुम्न जाने रमाइलो गर्ने सबैको रहर हुन्छ र हुनु स्वभाविकै हो ।
यस्तै इच्छा छ पोखरा २८ माझठाना डाँडागाउँ निवासी सुशान नेपालीमा । तर उनका सबै इच्छाहरु मनमा सिमित छन । किन कि उनका बाबु मन बहादुर नेपाली र आमा रीता नेपाली दुवै जना दुष्टिविहिन छन् । विदाको समयलाई सदुपयोग गर्दै ज्यालादारी रुपमा काम गर्दै आफ्ना बाबु आमाको रेखदेख गर्छन् सुशानले । कहिलेकाही उनी विद्यालय जान नसक्ने वाध्यता रहेको सुशान सुनाउँछन् । आफ्ना बाबु आमाको रेखदेख गर्ने देखि आफ्नो पढाइलाई पनि निरन्तरता दिनु उनको जिम्मेवारी छ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ माझठाना रैकरमा रहेको स्थानीय विद्यालय रत्नशोभा माध्यमिक विद्यालयको कक्षा नौमा अध्ययरत सुशान नेपाली भन्छन् , “कमजोर आर्थिक अवस्था र बाबुआमा दुबै दृष्टिविहीन भएपछि परिवार पाल्ने मेरो जिम्मेवारी हो र समय मिलाएर स्कुल पनि जान्छु।”
दैनिक ज्यालादारी गर्दा उनी नियमित स्कुल जान पाउँदैनन् । नियमित विद्यालय जान नपाएका कारण उनको पढाइमा असर परेको रत्नशोभा माविका प्राध्यानाध्यापक किरणबाबु न्यौपानेले बताउनु भयो ।
सुशानको परिवारको आर्थिक अवस्थालाई मध्येनजर राख्दै नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइ र नेपाल पूर्वप्रहरी परिवार संगठन लेखनाथ इकाइले आइतबार खाद्यान्न सामग्री वितरण गरेको छ । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइ समितिका अध्यक्ष कृष्ण तिमिल्सेनाले सुशानको परिवारलाई ४ बोरा चामल, तेल, चिउरा, मस्यौरा, चिनी लगायत खाद्यान्न सामग्री वितरण गरेको बताउनु भयो । रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका तिमिल्सेनाले सुशान्तको पढाइमा केही हदसम्म सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरेको बताउनु भयो ।
सेवाबाट निवृत्तभएपछि पनि सामाजिक कार्यमा सक्रिय हुनु नेपाल पूर्वप्रहरी संगठन बनाएर संगठित भएको उहाँको भनाइ छ । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइका अध्यक्ष तिमिल्सेना, नेपाल पूर्वप्रहरी परिवार लेखनाथ इकाइका अध्यक्ष रश्मीदेवी तिमिल्सेना लगायत सदस्यहरुको उपस्थिति रहेको खाद्यान्न वितरण कार्यक्रममा स्थानीय समाजसेवी मंगलबाहादुर नेपाली र नरबहादुर नेपालीको समेत सहभागीता रहेको थियो । नेपाल पूर्वप्रहरी परिवार लेखनाथ इकाइका सदस्य सीता रानाभाटले सुशान नेपालीको लागि विद्यालय पोशकसमेत वितरण गर्नु भएको थियो ।