लेखनाथ, २८ माघ । पोखरा महानगरपालिका वडा नं.२७ स्थित गन्धर्व वस्तीमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा र ईलाका प्रहरी कार्यालय डाँडाकोनाकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अल्पसंख्यक समुदायसँग अन्तरक्रिया तथा नागरिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले दुर दराजमा रहेका जनताहरुको पिरमर्का बुझ्नको लागी यस किसिमका कार्यक्रमहरु प्रभावकारी हुनुका साथै आफुलाई परेको कुनै गुनासोको लागी कसैको सहारा लिनु नपर्ने वताएका थिए ।
यस्तै ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले समाजमा भएका जुनसुकै घटना तथा अपराधको बारेमा प्रहरीलाई खबर गर्नुपर्ने बताउँदै आफुलाई जानकारी भएका घटनाको बारेमा प्रहरीलाई सुचना दिन आग्रह गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले देशभित्रका नागरिक असल, बफादार, अनुशासित, मर्यादित र स्वस्थकर हुन भन्ने आफ्नो चाहना रहेको वताए, वडाध्यक्ष गुरुङले भने, “देशलाई सभ्य, सुसंस्कृत बनाउने जिम्मेवारी वोकेका भविष्यका कर्णधार युवावर्ग लागुऔषधमा फस्न दिनुहुँदैन। गलत संगतमा नलाग्न र लागुऔषधका क्रियाकलापविरुद्धमा जानेबुझेको सन्देश गाउँ टोल, बस्ती र छिमेकीसम्म पु¥याउन र सबै मिलेर सामाजिक विकृति रोक्नुपर्दछ ।”
उक्त अवसरमा लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाकी अध्यक्ष गंगा खनालले लागुऔषध प्रयोगको समस्या जटिल समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि समुदायको प्रयास नै महत्वपूर्ण हुने बताईन । यसले चोरीका घटना तथा अपराधिक घटनासमेत बढ्न सक्ने भएकाले सबै सचेत भएर यसको न्यूनीकरणमा लाग्नु राम्रो भएको उनको भनाइ छ । “हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं र यसले थप अभियान प्रभावकारी बन्ने ठानेका छौं“, उनले भनिन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी प्रसाद सलामी, अस्थायी ट्राफिक प्रहरी पोष्ट डाँडाकोनाकका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक राजिव बिष्ट, राईजिङ स्टार युवा क्लवका अध्यक्ष यम प्रसाद गुरुङ, केन्द्रका कार्यसमिति सदस्यहरु रामकृष्ण खनाल, सुमित्रा बन्जारा, गोबिन्द वाग्ले सल्लाहकार एवम् पुर्वअध्यक्ष ईश्वरी प्रसाद अधिकारी, त्रिलोचन लामिछाने, लगायत स्थानिय युबा क्लव, आमा समूह, टोल विकासका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु गरि १५० भन्दा वढिको सहभागिता रहेको थियो ।
संस्थाका सदस्य गोबिन्द वाग्लेको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सहसचिव कृष्ण रिजालले गरेका थिए भने सहजिकरण लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष शिवहरी ढुङ्गानाले गरेका थिए ।