ऋषिराम रानाभाट
लेखनाथ, ९ चैत । कास्कीको मादी गाउँपालिका वडा नं.१२ स्थित भगवतीटारमा तेस्रो आलु महोत्वस आज हुँदै छ ।
हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिकाको सह आयोजनामा हुन लागेको तेस्रो आलु महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
महोत्वसमा खुल्ला भजन प्रतियोगिता , दुना टपरी गाँस्ने प्रतियोगिता ,खुल्ला छेलो फ्याँक्ने प्रतियोगिता साथमा ख्यातीप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती, कृषि उत्पादन प्रर्दशनी , आलुका विभिन्न परिकारका स्वाद लिन पाइनुका साथै विविध सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहेको हराभरा भगवती कृषक समूहका अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिनु भयो ।
भजन प्रतियोगिता तर्फ प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको छ भने दुना टपरी गाँस्ने प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५ हजार , द्धितीय पुरस्कार ४ हजार र तृतीय पुरस्कार १ हजार ५ सय रहेको समूहका सचिव महेन्द्र पौडेलले जानकारी दिनु भयो । त्यस्तै गरी खुल्ला छेलो फ्याँक्ने प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार र द्धितीय पुरस्कार ३ हजार रहेको आयोजकले जानकारी दिएको छ ।
कलाकार रामजी पौडेल, सुनिल गायक र सावीत्री शाही एवम् स्थानीय कलाकारको विशेष सांगेतिक प्रस्तृति रहने उक्त कार्यक्रममा उपस्थितिका लागि स्थानीय संघ संस्थाहरु, व्यक्ति विशेष लगायत सरोकारवाला सबैलाई निमन्त्रणा गरि सकिएको प्रचार प्रसार समितिका संयोजक प्रकाश आचार्यले जानकारी दिंदै कार्यक्रममा उपस्थितिका आग्रह गर्नु भयो ।
मादी गाउँपालिका प्रमुख देवीजङ गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन सरोकारवाला सम्पूर्णमा मादी १२ का कार्यवाहक अध्यक्ष लक्ष्मी गिरी आग्रह गर्नु भयो । लोप हुँदै गएको भजन चुट्काको संरक्षण र सम्बद्र्धन गर्दै यहाँको जग्गा आलु तथा अन्य तरकारी एवम् फलफुल उत्पादनका लागि उत्तम छ भन्ने सन्देश दिनका लागि आलु महोत्सवको आयोजना गरिएको समूहका सचिव पौडेलले बताउनु भयो ।
स्थानीयले उत्पादन गरेका तरकारी तथा फलफुल महात्वसव मार्फत विक्रीवितरण गरी कृषकलाई कृषि उत्पादनमा थप प्रोत्साहित गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बुद्धि प्रसाद पौडेल, प्रचार प्रसार उपसमितिको संयोजकमा प्रकाश आचार्य, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा राम बहादुर क्षेत्री , सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र बहादुर खत्री, अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा नारायणी पौडेल रहनु भएको समूहका अध्यक्ष कुशुमलता सुवेदीले जानकारी दिनु भयो ।
पोखराबाट लगभग एक घण्टाको यात्रामा पुगिने भगवतीटारको फाँटमा खाली खेत देखिँदैनन । सिजन अनुसार जौ, आलु, तोरीजस्ता बालीले यहाँको फाँट भरिएका हुन्छन् । यहाँ आलु, मुला जस्ता तरकारीको उब्जनी एकदमै राम्रो भएको कृषक बताउँछन् । स्थानीय सामाजिक संघ संस्थाहरुको विशेष सहयोगमा पहिलो र दोस्रो आलु महोत्सव सफलतापूर्वक सम्पन्न गरेको समूहले यस पटक पनि तेस्रो आलु महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।