हिजोआज दिउँसो नै अन्धकार
हातमा टर्च बालेर
सरकार ! खोज्दैछौं
निदाएकाहरुलाई ब्युझाउन खोज्दैछौं।
घाम लागे पनि
उज्यालो हराएकोले
शिक्षकमात्र रहेनौं हामी अब
टर्चलाइट बोकेका सत्यका यात्रु हौं।
कहाँ गयौ तिमी?
कक्षा कोठाका देवता सडकमा
स्वर सुकाउँदै, पसिना बगाउँदै,
तिमी कान थुनेर काठको मुर्ति झैं कति बस्छौ ?
कसैले भन्छ_”शिक्षक किन आन्दोलन गर्छ?”
उनीहरुलाई कसरी भनौं?
शिक्षा बेचेको बजारमा
हामी आत्मा जोगाउँदै छौं।
कस्ले पो सोचेको थियो र ?
शान्त विद्यालय छोडेर हातमा ब्यानर लिनुपर्ला भनेर
कस्को पो चाह थियो र?
पुस्तकको छायाँ छोडेर नारा लगाउँदै सडकमा उत्रिन
रहर होइन, बाध्यता
सपना च्यातिदैं गर्दा,जायज कुरा सम्बोधन नहुँदा,
अधिकार टुक्रा टुक्रा पारिँदा,
आवाज उठाउनु बाध्यता ।
कक्षाकोठाबाट सडकसम्मको यात्रामा
टर्चले खोजिरहेका छौं सरकार !
न्यायलाई, शिक्षा बचाउने ऐनलाई,
र बिर्सिएको संवेदनालाई।
सातौं दिन टर्च बालेर शिक्षक
शान्तिपूर्णछौं , तर शून्य होइनौं,
अन्धकार चिर्नेछौं, उज्यालो छर्नेछौं,
इतिहासको नयाँ अध्याय कोरेरै छाड्नेछौं।
लेखक, कमला देवि ढकाल
शिक्षक
लक्ष्मी मा.वि. , गैंडाकोट
शिक्षक
लक्ष्मी मा.वि. , गैंडाकोट