पोखरा, ११ वैशाख।
पोखरा महानगरपालिकामा पूर्वाधार विकासले नयाँ गति लिइरहेको सन्दर्भमा वडा नं। ३० अन्तर्गत पर्ने शिशुवा–खुदीखोला सडकको निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरिएको छ। शिशुवादेखि सिसाघाटसम्मको सडक खण्ड अन्तर्गत पर्ने यो सडक क्षेत्रकै महत्वपूर्ण र रणनीतिक मार्गका रूपमा लिइएको छ।
नेपाल सरकारको शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा, विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन भएको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NU-GIIP) अन्तर्गत निर्माण सम्पन्न उक्त सडकको उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गर्नुभयो।
विकास साझेदारीको केन्द्र बन्दै पोखरा ः पोखरा महानगर प्रमुख आचार्य
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका विकास साझेदारहरूको आकर्षणको केन्द्र बन्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले समन्वय र निरन्तर पहलमार्फत विकास साझेदारहरूलाई पोखरामा ल्याउन सफल भएका छौं। अहिले महानगर क्षेत्रमा ३३ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरू सञ्चालनमा छन्।”
उहाँका अनुसार यस्ता परियोजनाहरू आकस्मिक रूपमा नभई दीर्घकालीन योजना, निरन्तर संवाद र विश्वास निर्माणका कारण सम्भव भएका हुन्। पोखरालाई योजनाबद्ध र दिगो शहरी विकासतर्फ अघि बढाउने लक्ष्यसहित विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकायहरूसँग सहकार्य भइरहेको उहाँले स्पष्ट पार्नुभयो।
दोस्रो चरणको काम अगाडि बढ्ने अपेक्षा
नगर प्रमुख आचार्यले विश्व बैंककै सहयोगमा निर्माण सम्पन्न उक्त सडकको दोस्रो चरणको काम समेत छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। यसले सडक सञ्जाललाई थप व्यवस्थित र विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
ढिलाइ भएका आयोजनाप्रति चिन्ता
उहाँले तालचोक–बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। आयोजना कार्यान्वयनका क्रममा देखिएका विभिन्न प्रशासनिक, प्राविधिक तथा ठेक्का व्यवस्थापनसम्बन्धी समस्याहरूका कारण निर्माण कार्य प्रभावित भएको बताउँदै उहाँले अन्तिम पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्न सबै पक्षलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।
अन्तरपालिका सहकार्यको आवश्यकता
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकासप्रति प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले छिमेकी पालिकाबीच सहकार्य र समन्वयमार्फत क्षेत्रीय विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो।
उहाँका अनुसार शिशुवा–सिसाघाट सडक ऐतिहासिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मार्ग हो, जसको स्तरोन्नतिले स्थानीय जनजीवन, व्यापार तथा पर्यटन र कृषि मा सकारात्मक प्रभाव पार्नेछ।
नागरिकमैत्री पूर्वाधार निर्माणमा जोड
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले दिगो, सुरक्षित र समावेशी पूर्वाधार निर्माणमा महानगर प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरीले विकासका लागि सकारात्मक सोच र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो भने वर्तमान अध्यक्ष जानुका पराजुलीले सडक निर्माणपछि स्थानीय व्यवसाय तथा आवागमनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
समावेशी विकासको लक्ष्य
पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगर समावेशी र समानुपातिक विकासको सिद्धान्तअनुसार अघि बढिरहेको बताउनुभयो। वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।
आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्म करिब ४.१४ किलोमिटर सडक निर्माण गरिएको हो। विश्व बैंकको करिब ३४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न उक्त परियोजना आधुनिक मापदण्डअनुसार निर्माण गरिएको छ।
सडकमास्१५ मिटर चौडाइको डबल लेन
७ मिटर सहायक (सर्भिस) सडक १.५ मिटर साइकल ट्र्याक २.५ मिटर पैदलमार्ग (फुटपाथ) व्यवस्थित नाली तथा जल निकास प्रणालीजस्ता संरचनाहरू समावेश गरिएको छ, जसले सडकलाई सुरक्षित, व्यवस्थित र दिगो बनाएको छ।
दीर्घकालीन प्रभाव यस सडकको निर्माणले स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउने, व्यापारिक गतिविधि वृद्धि गर्ने तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्ने अपेक्षा गरिएको छ। साथै, यसले पोखरालाई आधुनिक, व्यवस्थित र दिगो शहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।