काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गते (आज) देखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ ।

जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ ।  कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन् । प्राधिकरणले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरेको छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मर्मत गर्ने बहाना बनाएको आरोप लागेको छ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर प्राधिकरणले मर्मतको बहानामा त्रिभूवन अन्तर्राष्ट्रिय बन्द गरेको आरोप छ । तर प्राधिकरणका महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने बताउनु भयो । उहाँले नेपालको प्रचलित कानूनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरित उड्डयन क्रियाकलाप वायुसेवा कम्पनीहरुले गर्न नपाउने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहाना भन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको महानिर्देशक अधिकारीको भनाई छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेसँगै विश्वमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व बढ्ने देखिन्छ ।

तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि तीन अन्तर्राष्ट्रिय विमान कम्पनीको उडान तालिका स्वीकृत भएको छ । प्राधिकरणले अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई पनि उडान गर्न आग्रह गरेको छ । गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म तीन वटा वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत भइसकेको छ । जसमा थाई एयर एशिया,फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भएको छ । तीन कम्पनीले सेवा दिनेगरी प्राधिकरणले उडान तालिका स्वीकृत गरेको अवस्था छ ।
नेपालमा सबैभन्दा बढी कनेक्टिङ उडान गर्ने कम्पनी कतार एयरवयजले भैरहवामा १२ तारिकदेखि उडान गर्ने प्रश्ताव गरेको छ । त्यस विषयमा प्राधिकरणले अध्ययन गर्दैछ । कतार एयरवयजको स्वीकृत भएका भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनी चार वटा हुन्छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपर्छ । त्यसको सबैभन्दा बढी लाभ लिने भनेको एयरलाइन्सहरुले नै हो भनेर सहयोग भइरहेको छ । अरु अन्य वायुसेवा कम्पनीहरुले पनि भैरहवाबाट उडान गरेर सहयोग गर्नुहुने छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु उडान गरेसँगै  भैरहवा विमानस्थल चल्नेछ । नेपाल आउन चाहने यात्रु र पर्यटकलाई हवाई भाडा नियन्त्रणमा पनि सहयोग गर्नेछ । भैरहवा अन्तर्राष्ट्रिय उडान स्वीकृत र गराउनको लागि ठूलो चुनौति भएको छैन ।

गौतमबुद्ध विमानस्थलबाट उडान गराउन सहज थिएन 

भैरहवाबाट उडान गराउनको लागि ९ महिनादेखि प्राधिकरण वायुसेवा कम्पनीहरुसँग संवादमा नै रहेका छौं । कम्पनीहरु तयार भएर निर्णय गरे पश्चात नै प्राधिकरणले पनि सबैको सहभागितामा निर्णय गरेको हो । यो एआईपीमा प्रकाशन भइसकेको कुरा हो । प्रकाशन भएकै ७ महिना भइसक्यो । विश्वका वायुसेवा क्षेत्रमा काम गर्ने कम्पनीहरुलाई थाहा छ ।
पहिला नै काम अगाडि बढेकाले अहिले चुनौतिको सामाना गर्नु परेन । तर काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी उडान गर्ने इच्छा विमान कम्पनीहरुलाई हुन्छ । तर प्राधिकरणले सोच्ने भनेको देशको लागि हो । काठमाडौंको विमानस्थल बनाएपछि क्षमता र गुणस्तरमा अभिवृद्धि हुन्छ । यो सधैँको लागि हुने अभिवृद्धि हो । अहिले पाँच महिना दुःख गर्नुपर्छ । राम्रो काम गर्छु भन्दा चुनौतिको सामाना गर्नु परेन । तर सहज पनि थिएन ।

२ अर्ब नोक्शानी व्यहोरेर विमानस्थल बन्द 

नेपालमा व्यक्तिगत वाक स्वतन्त्रता छ । हरेक हिसावमा, आफ्नो हिसावमा भन्न पाइयो । आफूलाई फाइदा हुनेगरी व्यक्ति केन्द्रित भएर बोल्छन् भने हामी त्यसको पछाडि लागेर दौडनु भएन । प्राधिकरणको स्पष्ट धारणा भनेको विमानस्थल बनाउनु परेकाले बन्द गर्नुपरेको हो । विमानस्थल बन्द गर्दा प्राधिकरण स्वयंको २ अर्ब आम्दानी नोक्शानमा जान्छ । प्राधिकरणले २ अर्ब नोक्शानी व्यहोरेर अरु के रणनीति हुन्छ ? यति सामान्य कुरा पनि बुझ्नसक्ने क्षमता जिम्मेवार मानिसहरुमा छैन भने मैले केही गर्न सक्दिन । विमानस्थल मर्मत गर्ने काम अहिलेको लागि मात्रै होइन । यो देशले जित्ने काम हो । यो व्यक्तिको लागि नभई यो काम देशको लागि हो । जिम्मेवार व्यक्तिहरु भए यो कामलाई समर्थन गर्नुपर्छ ।
ट्याक्सीवे निर्माण गर्दैमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था होइन । तर प्राविधिक पक्षहरु पनि छन् । यी सबै प्राविधिक कुराहरु सबैलाई बुझाउन पनि सकिँदैन । तर बुझाउने कोशिस गरिरहेका छौं । विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग हुनुपर्छ । खाल्डाखुल्डी र अन्य कुनै वस्तुहरु हुनुहुँदैन । प्राधिकरणले विमानस्थलमा रनवेमा लगेर ट्याक्सीवे जोड्न खोजेको हो । त्यसको लागि खन्नुपर्छ । यो विशुद्ध प्राविधिक काम हो । अलकत्रा सेट हुने समय फिट हुने निश्चित समय छ । विविध कुराको समय जोडर १० घण्टा निस्केको हो । यस्तो प्रचलन अन्य देशहरुमा पनि हुन्छ । यो भन्दा पहिला पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेको हो । त्यो बेला समयमा निर्माण सम्पन्न गरौं । केही समयको लागि दुःख हो । पाँच महिना भनेको देशको जीवनको लागि केही समय होइन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्दा सरकारले दिनसक्ने प्याकेजहरु दिने एक महिना अगाडि घोषणा गरेको थियो ।

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने सोच राख्नु गलत होइन

विमानस्थल बन्द गर्ने निर्णय सात महिना पहिला भएको हो । अहिले चार विमान कम्पनीहरु भैरहवा जान तयार भए । त्रिभूवन विमानस्थलको निश्चित क्षमता भएकाले विमानहरु थप्दै जान सक्दैनौं । विमानस्थलको क्षमता भन्दा बढी भएपछि कहाँ जाने भन्दा भैरहवा छ भन्ने देखियो । प्राधिकरण प्रमुख भएपछि  भैरहवा विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर निर्णय गरी सोच राख्नु गलत हो र ? भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछु । दुई वटै विमानस्थल सञ्चालनको लागि बनाएको हो । भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नेगरी काम गर्नलाई नै सरकारले प्राधिकरणमा राखेको हो ।
मलाई सरकारले काठमाडौं मात्रै चलाउ भैरहवा र पोखरा नचलाउन भनेर राखेको होइन । तर आजको अवस्था भनेको बाध्यकारी अवस्था हो । सात महिनाअघि निर्णय गरेको विषय हो । यो निर्णयमा कतैको कनेक्शन छैन । यो प्राधिकरणको रणनीति होइन । अवस्था यस्तो आइपरेको हो । विगतमा भैरहवा विमानस्थल किन बनाएको भन्नेहरुलाई किन बनाएको रहेछ भन्ने थाहा भयो । एउटा विमानस्थल मर्मत गर्दा अर्को विमानस्थल प्रयोग भयो । त्रिभूवन विमानस्थलमा प्राविधिक रुपमा विमान अवतरण गर्न नसक्दा एयरलक हुन्छौं । ल्याण्डलक देश थियौं । त्यसले अर्को आधार तयार ग¥यो । भैरहवा र पोखरा विमानस्थल चलाउँछु भनेर सोच्नु गलत होइन । त्रिभूवन विमानस्थल बन्द गरेर भैरहवा विमानस्थल चलायो भनेर सोच राख्नु राष्ट्रघात हो ।

अन्तर्राष्ट्रिय उडान कम्पनीले उडान गरेसँगै गौतमबुद्ध विमानस्थलको महत्व बढ्छ 

त्रिभूवन विमानस्थलमा प्राविधिक समस्या आउँदा विमान अवतरणको लागि भैरहवा विमानस्थल सहज हुन नसक्नुको कारण हवाइ इन्धन हो । भारतको कोलकतामा जाँदा धेरै फरक पर्छ । त्यो हुँदा त्रिभूवन विमानस्थलको अल्टरनेट भैरहवा विमानस्थल हुन सकेको थिएन । अन्तर्राष्ट्रिय रुपमा नाम चलेका विमान कम्पनीहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नगएको कारण पनि ओझेलमा परेको थियो । अब भैरहवा विमानस्थलको दिन आयो । कतार एयरवेज,फ्लाई दुबई, थाइ एशिया र जजिरा नाम चलेका एयरलाइन्स हुन् ।
उनीहरुले उडान गरेसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सिनमा आयो । नेपालमा भैरहवा विमानस्थल रहेछ । यसको ठूलो महत्व छ । विश्वका वायुसेवा कम्पनीहरुको लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल दृश्यमा आयो । विमानस्थल भएपनि राम्रा विमान कम्पनीहरुले उडान नगरेपछि चर्चा नहुने रहेछ । अब यसले धेरै सहयोग गर्छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।