लेखनाथ /  ११ जेठ ।
पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा विरुद्ध किशोर किशोरी कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोग र विद्यालयको आयोजनामा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष एवम् वडा शिक्षा सामितिका संयोजक श्रीकृष्ण लामिछानेले परिवर्तित समय अनुसार हरेक विद्यालयमा व्यवहारिक एवम् प्रयोगात्मक शिक्षा भएमा २१ औं शताब्दिमा स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनु भयो । यसका लागि वडाबाट गर्न पर्ने आवश्यक सहयोग गर्न तत्पर रहेको बताउँदै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।
यसै गरी सामाजिक विकास महाशाखाका अधिकृत चन्द्रावती वाग्लेले कार्यक्रममाथि प्रकाश पार्दै नेपालमा विशेष गरी किशोर किशोरीहरुमा धेरै समस्या देखिएको बताउँदै यसका लागि महानगर अन्तरगतको सामाजिक विकास महाशाखाबाट १० विद्यालयलाई छनौट गरी विशेष गरी किशोरीमा देखिने समस्यालाई निराकरण गर्ने उद्धेश्यले किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले स्वागत गर्नु भएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछानेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
दुइ समूहमा प्रशिक्षण कार्यक्रम
कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजन गरी लैङ्गिक हिंसा विरुद्ध किशोर किशोरी शिक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो ।
सामाजिक विकास महाशाखाका अधिकृत एवम् प्रशिक्षक चन्द्रावती वाग्लेले किशोर किशोरीमा हुने समस्या, यसका समाधानका उपाय लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
यसै गरी जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ट प्रहरी नायब निरिक्षक एवम् प्रशिक्षक होत बहादुर रोकाहाले किशोर किशोरीले भोग्नुपरेका घरेलु हिंसा, लैङ्गिक हिंसा, यसबाट बच्ने उपायहरु, सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराध , सामाजबाट हुने हिंसा लागयत विविध विषयमा प्रशिक्षण दिनु भयो ।
यसै गरी त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एवम् प्रशिक्षक डा.रामचन्द् भण्डारीेले लैङ्गिक हिंसाको बारेमा प्रशिक्षण दिंदै कानूनी प्रावधानका बारेमा प्रशिक्षण दिनु भएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिनु भयो ।