गाउँले मिडिया सम्वाददाता, लेखनाथ – १३ जेठ
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कालिकाको आयोजनामा एकदिने कानूनी सचेतना प्रशिक्षण मंगलबार सम्पन्न भएको छ। ‘राइट फर चिल्ड्रेन’को विशेष सहयोग तथा रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित सो कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू एवं अभिभावकहरूलाई लक्षित गरी प्रशिक्षण प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले विकृति र विसंगतिबाट मुक्त समाज निर्माणमा सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू टोलटोलमा सञ्चालन गर्न सुझाव दिनुभयो। उहाँले महिला समूह, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थामार्फत सचेतना फैलाउन जोड दिनुभयो र वडाको तर्फबाट सधैं साथ रहने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, हंसपुर इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक हरि सलामी मगरले “लागुऔषध के होरु” भन्ने विषयमा प्रस्तुति दिँदै नेपालमा हाल कक्षा ७ देखि १२ सम्मका करिब १ लाख २० हजार विद्यार्थी लागुऔषधको कुलतमा फसेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले कुलतमा परेका व्यक्तिको औसत आयु १० वर्षभित्र घट्ने भन्दै यसका प्रकार, चरणहरू, असरहरू, लक्षणहरू, सजाय तथा बच्ने उपायबारे जानकारी दिनुभयो। साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा बढ्दो साइबर अपराधको जोखिमबारे सचेत गराउँदै अपरिचित व्यक्तिबाट ब्ल्याकमेलिङ भएमा तुरुन्त नजिकको सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गर्नुभयो।
कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रविण नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम संयोजक जिवन तिवारीले स्वागत गर्नु भएको थियो । विद्यालयको तर्फबाट शिक्षक ऋषिराम रानाभाटले प्रशिक्षण कार्यक्रम उपयोगी रहेको उल्लेख गर्दै सिकेका कुरा अरूलाई पनि सिकाउन र व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
कार्यक्रम सञ्चालन सेवा केन्द्रका सचिव विरेन्द्रराज भुर्तेलले गर्नुभएको थियो। सहभागी विद्यार्थी कक्षा ९ की स्मृती बुढाथोकीले प्रशिक्षण प्रभावकारी रहेको बताउँदै युवाहरूलाई कुलतबाट जोगाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरिन्। साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध समेत गरिन्।













