गाउँले मिडिया सम्वाददाता
लेखनाथ / १० असार। पोखरा महानगरपालिकाले न्युजिल्याण्डस्थित नेपाली समुदायबीच सक्रिय डा. रमिल अधिकारीलाई ओसियानिया क्षेत्रका लागि पर्यटन दूतका रूपमा नियुक्त गरेको छ।
महानगर प्रमुख धनराज आचार्यद्वारा हस्ताक्षरित नियुक्तिपत्र अनुसार डा. अधिकारीको नियुक्ति मानार्थ र स्वेच्छिक हुनेछ। उहाँलाई ओसियानिया क्षेत्रका विभिन्न देशहरूमा पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य संस्कृतिको प्रचार–प्रसार गर्दै नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ।
डा। अधिकारीले सार्वजनिक कार्यक्रम, शैक्षिक तथा सञ्चार माध्यमहरू, र सामाजिक अभियानमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्नुका साथै सरोकारवालाबीच सहकार्य निर्माण गर्ने र महानगरलाई उपयोगी सुझावहरू प्रदान गर्ने भूमिका निर्वाह गर्नुहुनेछ।
पोखरा महानगरले यो भूमिकामा डा। अधिकारीको समर्पणले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ दृढ रूपमा चिनाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।
पोखरा ३१ मोहोरिया निवासी डा। अधिकारी विगत एक दशकदेखि अध्ययन र पेशागत कारणले न्युजिल्याण्डमा बसोबास गर्दै आउनुभएको छ। मेडिकल डाक्टरसमेत रहनु भएका अधिकारीले त्यहाँका विभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थामा सक्रिय सहभागिता जनाउँदै आउनु भएको छ ।
कोभिड–१९ महामारीका क्रममा उहाँले न्यूजिल्याण्डको अपरहट सिटीमा उल्लेखनीय योगदान गर्नुभएको थियो, जसको उच्च मूल्याङ्कन गर्दै अप्परहट सिटी सरकारले उहाँलाई विशेष सम्मान समेत गरेको थियो ।
विदेशमा रहेर पनि नेपाललाई विश्वसामु चिनाउन निरन्तर क्रियाशील डा। अधिकारीले आफू बसोबास गरेको सहरमा नेपाली मन्दिरको निर्माणसमेत गर्नुभएको छ। उहाँले प्राप्त जिम्मेवारीले पर्यटन र सामाजिक सेवामा थप योगदान दिन प्रेरणा मिलेको बताउनुभयो।









